लोडसेडिङको मारमा आइ.एस.पी. र साइबर क्याफे

Posted: April 14, 2007 in Published Articles

बढ्दै गएको लोडसेडिङ र बजारमा भएको तेल अभावको कारण साइबर क्याफे र आई.एस.पी. को व्यापारमा ठूलो असर परेको छ। यसका कारण उनीहरूको व्यापारमा ८० प्रतिशत सम्म गिरावट आएको छ।

दिनको २ घण्टा बाट शुरू भएको लोडसेडिङ अहिले ८ घण्टा पुगेको छ। यस्तै स्थिति रहि रहिरहेमा आउने दिनमा १५ घण्टा सम्म लोडसेडिङ हुनसक्ने विद्यूत प्राधिकरणले औंल्याएको छ जसले भविष्यको अझ विकराल रूप अनुमान गर्न सकिन्छ।

देशभरमा झण्डै ५ हजारको  हाराहारीमा पि.सि.ओ. र साइबर क्याफेहरू भएको अनुमान छ। राजधानीमा मात्रै पनि लगभग १५ सय साइबर क्याफेहरू छन्। साइबर क्याफे नै त्यस्ता माध्यम हुन् जसले अति कम आय भएका हरूलाई समेत इन्टरनेट सर्फिङ गर्ने सुविधा पुर्‍याएका छन्। यीनीहरूको व्यापार घट्ने वित्तिकै प्रति साइबर (३ जनाकै सरदर मान्ने हो भनें पनि) १५ हजार भन्दा बढीको रोजगारीमा प्रश्नचिह्न खडा हुन्छ।

देशका सबैभन्दा बढी मानिसलाई इन्टरनेटका माध्यमबाट विश्वभर जोड्ने यीनीहरू “चर्चा नपाएका हिरोहरू” हुन् यीनिहरूलाई फल्ने फुल्ने वातावरण तयार गर्नु राज्यको कर्तव्य हो तर यस्ता साइबर क्याफेहरूलाइ सुविधा दिन त परै जावस् सञ्चालन गर्ने न्यूनत्तम वातावरण बनाउने सम्मको काम पनि सरकारले गरेको छैन- आइएसपी हरूको राष्ट्रिय संस्था आइएसपानका महासचिव विनय बोहराको कथन हो यो।

भायानेटका प्रवन्ध निर्देशक समेत रहेका बोहरा भन्छन् यस्तै स्थिति रहिरहने हो भनें साइबर क्याफे मात्र होइन अधिकांश आई.एस.पी. हरूले समेत कुम्लो कस्ने बेला आउनसक्छ। आइ.एस.पी. ले ३६५ दिन २४सै घण्टा र हप्ताको सातै दिन सेवा दिनुपर्ने हुन्छ। सेवा सञ्चालन गर्ने लाइसेन्स दिँदा दूरसञ्चार प्राधिकरणले हरेक आइ.एस.पी. हरूलाई ९९.९९ प्रतिशत समय लिङ्क अप अर्थात् त्यति समय सेवा दिन सक्छु भनेर कबुलियत गराउँछ। त्यति नगरे जरिवाना गर्ने वा लाइसेन्स सम्म खोस्नसक्ने नियम छ। एकातिर लोड सेडिङको मार त छँदैछ अर्कोतिर पावर व्याकप का लागि जेनेरेटर चलाउनका लागि तेल पनि छैन यस्तोमा कसरी ९९.९९ अप राख्‍न सकिन्छ? उनी गुनासो पोख्छन्।

एकातिर महंगो शुल्कमा विदेशी संस्थाबाट इन्टरनेटको व्याण्डवीथ बार्षिक वा अर्ध बार्षिक सम्झौतामा खरिद गरिएको हुन्छ अर्को तिर सेवा नै प्रयोग गर्न नपाएको भन्दै ग्राहकहरू छूट माग्छन्। व्याण्डवीथ प्रोभाइडरले त लोड सेडिङको आउटेज दिँदैन तर ग्राहकलाई भनें छूट दिनैपर्ने वाध्यताहरू हुन्छन्। यसले आइएसपीहरू झनै मारमा परेका छन्।

लोड सेडिङले पावर इन्जिनियरिङ लाइ नै च्यालेन्ज गरेको उनको दावी छ। हुन पनि पावर व्याकपका लागि गर्नसम्म सकिने कुरा ब्याट्री र इन्भर्टर राख्ने हो। व्याट्री चार्ज गर्नलाइ पर्याप्त समय चाहिन्छ। थोरै समय बिजुली आएका बेला ब्याट्री राम्रोसित चार्ज भएन भने त्यसले पूरा समय व्याक अप दिँदैन। हतार हतारमा थोरै चार्ज गरेर चलाउँदा पनि व्याट्रीको लाइफ कम हुन्छ अर्थात् कम खप्छ।

उता बजारमा ब्याट्रीको माग ह्वात्तै बढेपछि यसको मूल्य पनि अकासिएको छ। इन्भर्टरमा डीप साइकल ब्याट्री प्रयोग हुन्छ। पहिले ६-७ हजार मूल्यमा पाइएको यस्तो ब्याट्रीलाई अहिले १२-१३ हजार पर्छ। त्यो पनि बजारमा अभावै छ। कालो बजारमा किन्नुपर्‍यो भनें त्यो भन्दा माथि पुग्छ सानोतिनो लगानीकर्ताले अब कसरी साइबर चलाउन सक्छ? पाटन स्थित ग्लोबल साइबरका सञ्चालक अनिशको चिन्ता छ। उनी भन्छन् साइबर क्याफेहरूको यूनियन पनि छैन त्यसैले यो क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भैरहेको छ। मूल्य घटाउने प्रतिस्पर्धाले गुणस्तर ज्यादै खस्केको छ। गुणस्तरीय सेवा दिन धेरै खर्चिलो लिज लाइन लिन कसले खतरा मोल्ने?

१.६ केभिएको जेनेरेटर र ३ केभिएको इन्भर्टर तथा ब्याट्री जोडेको ग्लोबलका अहिले आधा भन्दा धेरै कम्प्युटर चल्न सकेका छैनन्। १३ वटा कम्प्युटरका लागि ३ घन्टा व्याकप पुग्ने क्षमता भएपनि अहिले ६ वटा मात्र चलाइएको छ। व्याट्री पूरा चार्ज हुन ३२ घण्टा लाग्छ तर ३२ घण्टा लगातार बत्ती आउँदैन। यो साइबरमा दिउसो र बेलुकी ग्राहकको चाप बढी हुन्छ तर ग्राहक आउने समयमा लाइन हुँदैन। पीक आवरको काम नभएपछि व्यापार पनि आधा नै भएको उनले बताए।

आइ.एस.पी. हरूले पावर व्याक-अप का लागि साधारणतया जेनेरेटर पनि राखेका हुन्छन्। तर एम्बुलेन्स चलाउन पनि तेल नपाएका बेला आइ.एस.पी. को जेनेरेटर चलाउने डिजेल कहाँ पाउनु? आइएसपानले त आयल निगमलाइ तेल उपलब्ध गराउन फागुनको पहिलो हप्ता पत्राचार नै गरेको थियो। निगमले उनीहरूलाई मिठो आश्वासन पनि दियो तर एक हप्ता भैसक्दा पनि निगमले तेल दिएको छैन। छुट्टै पम्प तोकेर भोलि-पर्सी दिन्छु भन्न पनि छोडेको छैन।

एउटा आइ.एस.पी. को मुख्य सिस्टम एक ठाउँमा भएपनि ४-५ ठाउँमा यसका विभिन्न उपकरणहरू जोडिएका हुन्छन्। त्यस्ता हरेक उपकरणहरूलाई पावर चाहिन्छ। अझ वितरण हुने पपहरूमा समेत पावर आवश्यक पर्दछ। हरेक ठाउँमा पावर व्याक-अप राख्न उनीहरूलाई ठूलै कष्ट परेको छ।

व्याक-अप जेनेरेटर चलाउन र त्यसलाई तेल जुटाउने दौडधुपमा मर्केन्टाइल कम्युनिकेशनका कतिपय कर्मचारीहरू त सुत्न पनि पाएका छैनन्। कम्युनिकेशनका प्रवन्धक मधु अमात्य भन्छन् यू.पि.एस. चार्ज गर्न नै धौ धौ परिसक्यो। हाल ९ घण्टा सम्म व्याक अप दिनसक्ने क्षमता मर्केन्टाइल सित रहेको उनी बताउँछन्। जेनेरेटर चलाउन नै प्रतिदिन १६० लिटर डिजेल चाहिन्छ तर कतैपनि पाइदैन। आयल निगमले पनि अल्लार्ने काम गरिरहेको छ तर डिजेल दिएको छैन। ग्राहकको घरमा सपोर्ट दिनलाइ त झनै कठीन भैरहेको छ।

अर्को आइएसपी सुविसुले त आफ्ना कतिपय सर्भरहरू बन्द नै गरेको छ। इन्टरनेट सेवा जोड्न ठाउँ ठाउँमा जोडीएका पप हरूमा पावर व्याक अप दिन हम्मे-हम्मे परेको छ। सपोर्टका लागि राखिएका १० वटा डेस्क मध्ये अहिले २ वटा मात्र सञ्चालन गरिएको छ। अहिले यूपिएस बाट सिस्टम चलाइएको भएतापनि यही स्थिति रहेमा २-३ दिन पछि यूपिएस पनि चार्ज हुन नसक्ने सन्त्रास बढेको छ। सुविसुका सुधिर पराजुली भन्छन्।

केबुल टेलिभिजन सेवा समेत प्रदान गर्ने सुविसुको टिभी नेटवर्क पनि यो समस्याबाट अछुतो छैन। सुविसुले पनि पावर व्याक अप का लागि जेनेरेटर जडान गरेको छ तर उसको पनि समस्या त्यही डिजेलको छ। तेल कहिले पाइने हो कुनै टुंगो नभएको र तेल पाएमा स्थिति केही सहज हुने उनको अनुमान छ।

फिल्ड सपोर्टका लागि मोटरसाइकलमा जाने स्टाफहरूलाई अहिले साइकलमा पठउने गरिएको छ। हाम्रा स्टाफ नै बिरामी पर्ने बेला भैसक्यो उनको गुनासो छ।

यसैबीच आइएसपानमा आइ एस पीहरूले आपसमा पावर शेयरिङ  गर्ने विषयमा छलफल भएको बुझिएको छ। जस अनुसार विभिन्न आइ एस पी हरूका पावर जेनेरेटरहरुलाई सबैले प्रयोग गरिने अवधारणा रहेको छ।

ज्ञानेश्वरको कम्युनिकेशन सेन्टरले बत्ती नभएको बेला साइबर सेवा बन्द गर्ने गरेको छ। टेलिफोन चैं ब्याट्रीबाट चलाउछौं तर कम्प्युटर त बन्दै हुन्छ- सेन्टरका एक कर्मचारीले बताए। पिक आवर विहान बेलुकी बत्ती नआएपछि उनीहरूको व्यापार झण्डै ८० प्रतिशतले घटेको छ।

गौरीघाटमा साइबर क्याफे चलाउने रविन दाहालको पनि उस्तै उस्तै व्यथा छ। आफ्नो साइबर चलाउन उनले यूपिएस जोडेका छन् तर त्यसले १०-१५ मिनेटभन्दा बढी धान्दैन। ग्राहकलाइ चाहिएका बेला नेट न फोन कुनै सेवा दिन नसकेपछि कसरी हुन्छ व्यापार। विहान ९ बजे अघि र साँझ ५ देखि ८ बजेसम्म धेरै ग्राहक आउने उनको साइबरको व्यापार पनि ५० प्रतिशतले घटेको छ।

डिल्लीबजार स्थित स्वीफ्ट कम्युनिकेशनको भनें बिलकुलै अलग अनुभव छ। १० बर्ष भन्दा पुरानो सो कम्युनिकेशनलाई लोड सेडिङ्ले अरूलाई जस्तै दुःख दिएको थियो। तर २ महिना अघि इन्भर्टर र ब्याट्री जडान गरेपछि यसको व्यापारमा ठूलो परिवर्तन आएको सञ्चालक प्रमोद अधिकारी बताउँछन्। साइबर चलाएका कम्प्युटरहरू त उनले पहिलेनै थन्क्याइसके तर कम्युनिकेशनको व्यापारमा नै उनी मख्ख परेका छन्। लोड सेडिङका बेला म झलमल्ल बत्ती बाल्छु र बिलिङ मेशिन पनि चलाउँछु। “एउटा मात्र बत्ती बाल्दा धेरै कीरा आए जस्तो” लोड सेडिङका बेला त मेरोमा ग्राहकको घुँइचो नै लाग्छ- उनी आफ्नो अनुभव सुनाउँछन्।

निराशाजनक अवस्थामा बाँचेकाहरूलाई यो एउटा हौसला मात्र हुन सक्छ तर वास्तविकता चैं जटील नै छ। डाउन समय बढ्ने अवस्थाले कतिपय आइएसपीहरूले २४ घण्टा सेवा दिन नसकेर अस्थायी रूपले बन्द हुनुपर्ने अवस्थाको छेउमा पुगेका छन्।

ग्राहकले सेवा प्रयोग गर्न नसकेपछि पैसा तिर्न सक्दैनन्। यसबाट आइएसपीहरूको पनि आय घट्छ। सेवा उपभोग गर्न नपाएपछि ग्राहकहरू नै घट्न थालेका छन्।त्यसबाट सरकारको कर पनि घट्छ त्यसैले यसले सरकारलाइ पनि नकारात्मक असर पार्छ।

आइ.टी. सम्बन्धि जुनसुकै सेवाको पहिलो शर्त नै बिजुली हो। बिजुली नभएपछि यो क्षेत्र रूग्ण अवस्थामा पुगिसकेको छ। त्यसैले विद्यमान विकल्पहरूको अत्याधिक परिचालन गर्नु बाहेक अरू कुनै उपाय तत्काल देखिँदैन। यस्ता विकल्पहरूमा सौर्य शक्ति (सोलार) पनि एउटा विकल्प हुन सक्छ तर बिग्रँदो व्यावसायिक अवस्थामा कतिले थप लगानी गर्न सक्छन् भन्ने विषय अझ गहन छ। सरकारले अहिले तत्काल बिजुलीको व्यवस्था गर्न नसक्ने भएपनि यो सेवालाई प्रेस वा एम्बुलेन्स सरह प्राथमिकता दिएर तेल मात्र दिने हो भनें तत्काललाई केही राहत पुग्न सक्ने देखिन्छ।– प्रस्तुति :गणेश पौडेल

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s