श्री ५ को मुटुमा ढ्याङ्‌रो ठोक्योः आन्दोलनकारीको ललकार ‘अवसानका लागि तयारी गरे हुन्छ’

Posted: April 8, 2010 in Published Articles
-सूरज प्रकाश शर्मा
आफ्नो वार्ताका लागि गरिएको आह्वानलाई आन्दोलनरत ७ पार्टीले ठाडै अस्वीकार गरेपछि राजा ज्ञानेन्द्रको मुटुमा चिसो पसेको छ। “अब पार्टीले मलाइ पत्याएनन् उनीहरूलाई म सित वार्ता गराइदिनुपर्‍यो” भनी विदेशी राजदूतलाई गुहार्नथालेका छन्। राजाको हठका कारण अहिलेकै अवस्थामा वार्तामा जान सम्भव नभएको राजनैतिक दलहरूको दावी छ। आन्दोलनकारीहरूले राजालाई आफ्नो झिटिगुन्टा मिलाउन ललकारेका छन्।
अहिलेको अवस्था हेर्दा आन्दोलन चरमोत्कर्षमा पुगेको छ र राजाको दमन पनि तीब्र भैरहेको छ। यद्यपि अधिकांश जिल्ला सदरमुकाम र अन्य ठूला बजारहरूमा भएका प्रदर्शनमा दमनकारी सुरक्षाकर्मी तथा भिजिलान्तेहरू पूरै असफल हुन थालेका छन्। गाउँ गाउँ, बस्ती बस्ती र शहरका गल्ली गल्लीमा उर्लेको जनलहरले मन्डलेहरू र तिनका नाइकेहरूको मुटुमा ढ्यांग्रो ठोक्न थालेको छ। केही बजारहरूमा बाहेक अन्यत्रको जनप्रदर्शनमा सुरक्षाकर्मीको उपस्थिति सम्म पनि हुन छाडेको छ। सुरक्षाकर्मीहरूमध्येकै कतिले हात हल्लाएर आन्दोलनकारीहरूको समर्थन गर्न थालेका पनि छन्।
दलहरूका एक-दुई जनालाइ मन्त्री बनाइदिएर आन्दोलन मत्थर पार्ने राजाको दाऊ पनि अब त्यसै त्यसै मर्दै गएको छ। यसै दाऊमा फसेका कांग्रेसका रामबाबु प्रसाईं र एमालेका देवी ओझाहरूको अवसान भैसकेको छ भने आर.के. हरू पनि आफ्नो राजनीतिक जीवनको अन्तिम कुर्सी सुम्सुम्याउँदै छन्।
ढल्न लागेका बुढा पित्रहरू, तथा पञ्चायतकालीन केही भूतप्रेत-पिशाचहरू लिएर बढेको राजाको प्रतिगामी कदम दिनानुदिन असफल हुँदै गैरहेको छ। यता राजा तिनै भूतप्रेतको बहकाउमा र जिल्ला भ्रमणमा आएका रमितेहरूको ताँतीको आडमा चुलिएको घमन्ड पालेर नेपाली जनतामाथि बर्बरतापूर्ण लाठी, गोली टियर ग्यास भएर बर्सिरहेका छन्। धार्मिक साम्प्रदायिकताको आडमा अनुचित लाभ उठाउने केही व्यक्तिहरूले ओढाइदिएको “हिन्दू सम्राट” को पगरीबाट उन्मत्त भएका शासक ज्ञानेन्द्रले नेपाली जनता लगाएत सबै हिन्दूहरूले आफ्नो पूजा गर्छन् भन्ने भ्रम पालेका छन्। नेपाली जनताहरू चाहीँ आफूलाई गाँस बास दिने त होइन भएको गाँस र एकमुठी सास पनि जोगाइदिन नसक्ने हुतिहारा व्यक्तिलाई राजा भन्नु परेकोमा विरक्तिएका छन्। यीनै कारणले लोकतन्त्र मात्र होइन लोकतान्त्रिक गणतन्त्रको नारा बजार बजारमा घन्किन थालेको छ।
राजाको अहंको मुख्य कारण राजाको शक्ति हो। राजाले गल्ती गर्दैनन् भन्ने विश्वासमा हामीले संविधान मार्फत राजालाइ अति धेरै शक्ति दियौं। राजाले यसैको फाइदा उठाए। प्रहरी र सेनाको प्रमुख राजा, देशको प्रमुख राजा, संसदको प्रमुख राजा- राजाको दम्भको मुख्य कारण नै यही हो। यस मानेमा राजाको मुख्य शक्ति सेना हो। हाम्रो दुर्भाग्य नै हो शाही नेपाली सेना नेपाली सेना हुन सकेन। नेपाली जनताका छोराले नेपाली जनताको अधिकार बुझ्न सकेन र राजाको बर्बरता तिनै सेना-पुलिसको बूट र गोली मार्फत जनतामा बजारिइरहेको छ। कालान्तरमा ति नेपालीका छोराहरू राजातिरै फर्किए भने अवस्था के होला? देशको अन्त्य? कि राजाको? कि नेपालीको?
तर सेनाले सहयोग गर्लान् र आन्दोलन सफल होला भन्ने अहिलेको आन्दोलनकारीहरूको लक्ष्य होइन। हातमुख जोर्ने सम्म अवस्था नरहेपछि उत्रेका छन् जनता सडकमा। नेताले आन्दोलनलाई होइन आन्दोलनले नेतालाइ निर्देशित गरिरहेको अवस्थामा कसैले रोकेर यो आन्दोलन रोकिने वाला छैन।
यी अवसानका कुरा सोच्न सम्म नचाहने राजा र उनका बिलासी परिवारले आफ्नो सम्पत्तिको नाममा विदेशको कुनै कुनामा देशको ढिकुटीबाट झिटिगुन्टा पुर्‍याइसकेका होलान्।
ढीलो चाँडो मात्र हो अवसान निश्चित छ, यस्तो मनपरीतन्त्र नेपाली जनताले धेरैदिन राख्दैनन्।
– ilam.wordpress.com
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s