नेताको आशिर्वादले हैन जनताको पौरखले बनेको ठाउँ

Posted: March 11, 2011 in आलेख (Article), Published Articles
Tags: , ,

-गणेश पौडेल

एकपटकको कुरा हो तत्कालिन जमुना गाउँपञ्चायतको एउटा गाउँसभामा सहभागीले जिल्ला पञ्चायत सभापतिसँग बाटो बनाइदिन आग्रह गरेछन्।  त्यसको जवाफमा तत्काल जिल्ला पञ्चायतका सभापति कृष्ण बहादुर भट्टराईले भने रे “चिया रोप, गाडी आफै मुन्टिएर आउँछ।” यो भनाईले विकास निर्माणको कार्यमा त्यतिबेलाको सरकारको उदासीनता प्रष्टिन्छ।

१५ सालको पहिलो निर्वाचनमा इलामबाट निर्वाचित भएका र पछि लामो समयसम्म जिल्लापञ्चायत सभापति भएका नामुद पञ्च भट्टराईको लाचारीको जवाफ जनताले आफ्नो पौरखले दिए।

आफ्ना गाउँलाई बाटोले जोड्न इलामबासीहरू सरकारको मुख ताकेर बसिरहेनन्। आफ्नै जनश्रमले गाउँ-गाउँमा बाटो पुर्‌याई छाडे। ती बाटोहरू बनाउन इलामेहरूको श्रम र पसीना मात्रै हकदार छ, सरकारी सहयोग र अनुदान होइन।

आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउन सबैलाई बाटोघाटोको आवश्यकता महसुस भयो र पाखुराहरू जुर्मुराएर उठे। आफूले दिन नचाहे/नसके पनि भट्टराईले गरेको सकेत भने सही हुन पुग्यो। आफ्नै आर्थिक गतिविधिका कारण इलाममा विकासका पूर्वाधारहरू बन्दै गएका छन्।

इलाम जिल्लालाई नेपालका विकसित जिल्लाहरूमध्ये एकको रूपमा लिइन्छ। हुन पनि यहाँका अधिकाश गाउँहरुमा मोटरबाटो पुगेका छन्। बिजुली बलेका छन् र विद्यालयहरू पनि बनेका छन्। झट्ट हेर्दा लाग्न सक्छ इलामका नेताहरू कति जिम्मेवार रहेछन्। आफ्नो जिल्लालाई कति धेरै विकास गरेछन् । शक्तिमा भएकाहरूले विभिन्न कामका लागि जस लिन त खोज्लान् तर को कति पानीमा भन्ने कुरा जनताको नजरबाट छिपेको छैन।

इलामेली जनताको पौरखको इतिहास पनि रमाइलो छ।

ब्रिटिसका पालामा दार्जिलिङमा धेरै कुराको विकास भयो। बाटोघाटो बन्यो, चिया खेतीको व्यापक प्रचारप्रसार भयो र अन्य विभिन्न किसिमका पूर्वाधारहरू पनि बने। रोजगारीका अवसरहरू जन्मे, जनताको चेतनाको स्तर माथि उठ्यो र उनीहरू आत्मनिर्भरताको बाटोमा लम्किन थाले।

२०४० सालसम्म दार्जिलिङ र इलामको सीमानामा उभिएर हेर्ने नेपालीलाई विरक्त लागेर आउँथ्यो। उतातिर बाटोघाटो, बिजुली, स्कूल, स्वास्थ्यसेवा इत्यादिले सम्पन्न। डाँडाकाँडाहरू पनि चियाले ढाकिएका। यतातिर हेर्यो न कुनै विकासको पूर्वाधार छ न बाटोघाटो, बिजुली। भलले खोलेर भड्खाल्डो परेको बाटोमा टङ्लङ टङ्लङ घन्टी बजाउँदै हिँड्ने घोडाको ताँती र नाम्लोमा भारी बोकेर फर्केका नेपाली, यही थियो हाम्रो दुर्दशा।

दार्जिलिङसँग दाँजिदाको लाजमर्दो अवस्थाले हो अथवा त्यहाँका जनता नै मेहनती भएका कारण हो यहाँको खेतीपाती अलिक फरक किसिमले हुन थाल्यो। परम्परागत खेतीभन्दा नगदेबालीको खेतीतर्फ कृषकहरू अलि अलि गर्दै आकर्षित हुन थाले। पहिलेका नाघी डाँडाहरू विस्तारै चियाखेतीले भरिन थाले। अलिअलि चिस्यान भएका ठाउँमा अलैची रोपण सुरू भयो।

इलाम जिल्लामा वास्तवमै आर्थिक क्रान्ति तब सुरू भयो जब दुग्ध विकास सस्थानले इलामको दूध खरीद गर्न थाल्यो।

४० को सुरूतिर गाउँगाउँमा दुध सकलन केन्द्रहरु खोलिए, हप्ता हप्तामा पैसा भुक्तानी हुन थाल्यो, ४-५ माना दूध बेच्ने कृषकको घरमा हप्तेनी राम्रै नगद भित्रिन थाल्यो। त्यसपछि गाइपालनमा कृषकहरू राम्रैसित आकर्षित भए। भारतको पोख्रेबुङ लगायतका ठाउँबाट उन्नत जातका गाई तथा बीऊगोरू ल्याउने क्रम चल्यो। त्यसबेला पशुपतिनगरको बागबीरे उन्नत नश्लको गाई पालनका लागि नमूना गाउँ बन्यो।

कृषि विकास बैकले गाइपालनमा कर्जा प्रवाह गर्न थाल्यो। जर्सी र होलेस्टेन जस्ता उन्नत जातका गाई सबैका घरगोठमा पुगे। यसरी गाईपालन मानिसहरूको मुख्य पेशाको रूपमा स्थापित भयो र यसले समग्र इलामकै आर्थिक गतिविधिलाई एक्कासी उचाल्यो।

गाइपालनसँगै घाँसको आवश्यकता पर्ने भएकाले मानिसहरूले अम्लिसो लगायतका घाँस खेती गर्न थाले। पाखोबारी र कान्लाहरू अम्लिसोले भरिभराऊ हुन थाले। यसबाट गाईलाई घाँसको साथसाथै कुचो बेचेर थप आम्दानी पनि हुन थाल्यो।

अत्याधिक दूध उत्पादन हुन थालेपछि दुग्ध विकास सस्थानले मात्रै सबै दूध खरीद गर्न सकेन। त्यसपछि जिल्लाभित्र विभिन्न ठाउँमा चीज कारखानाहरू खुले। अहिले निजी क्षेत्रका डेरीहरूले पनि इलामको दूध उठाउन थालेका छन्।

यसरी गाईपालन व्यवसायले इलामबासीको आर्थिक गतिविधिमा नै क्रान्ति ल्यायो तापनि सरकारी तर्फबाट यो खेतीको प्रोत्साहनका लागि ठोस योजना आउन सकेन। उन्नत जातको गाइपालनका लागि सगठीत रूपको तालिम अहिलेसम्म कसैले कहीँपनि दिएको छैन। दूध प्रशोधन, भण्डारण तथा ओसार पसार गर्दा कसरी गर्ने भन्ने किसिमको ज्ञान पनि कृषकलाई दिइएको छैन।

चिया, अलैची लगायतका नगदेबालीको खेतीमा इलामबासीहरू लागेको धेरै दशक वितिसकेको छ। साँच्चै भन्ने हो भने इलामका कृषक धान, मकै, कोदो, गहूँ, जौ, फापर, जस्ता परम्परागत अन्नबाली भन्दा अदुवा, मटरकोसा, अकबरे खुर्सानी, इस्कुस, आलु, जस्ता नगदे बाली लगाउन रूचाउछन्। तर उनीहरूले यस्ता किसिमका खेतीमा कुनै किसिमको प्राविधिक सहयोग कहिल्यै पनि पाएका छैनन्।

चिया, अलैची आदि खेतीमा केही मात्रामा प्राविधिक सरसल्लाह नभएको होइन यद्यपि यस्तो सरसल्लाह सर्वसाधारण कृषकको सम्म पुगेको छ वा छैन कसैले सोचेको पनि छैन।

गाडी मुन्टिएर गाउँगाउँ पुग्यो, बिजुलीको पनि विस्तार कार्य भैरहेको छ, शैक्षिक सस्थाहरू पनि विस्तार विस्तार फैलिँदैछन्। यस मानेमा हामीले अत्तालिनुपर्ने अवस्था तत्काललाई छैन। यद्यपि हामीले यहाँ गर्नसक्ने अरू धेरै कुराहरू छन्।

रमणीय ठाउँ भएकोले पर्यटन व्यवसायको इलाममा प्रचुर सम्भावना रहेको छ। यसका लागि केही पूर्वाधारहरूको निर्माण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न जरूरी छ।

इलामबासीहरू आफू मेहनती र नयाँ कुरा गर्न रूचाउने प्रकृतिका भएतापनि कतिपय विषयमा उनीहरूलाई प्राविधिक ज्ञान उपलब्ध हुन सकेको छैन। उन्नत खेती, उन्नत प्रविधि आदिको जानकारी दिनसके यहाँका मानिसहरूले अझ प्रगति गर्न सक्छन्।

चार माई लगायत सानाठूला धेरै खोलाखाल्सा निरन्तर बगिरहेका छन्। तिनबाट सानासाना स्केलका बिजुली निकाल्नसके देशको उर्जा सङ्कटलाई कम गर्न केही हदमा भएपनि सहयोग हुनेछ।

उद्योग, बाणिज्य क्षेत्रमा इलाममा सरकारी लगानी एकदमै न्यून छ। यो क्षेत्रमा अलि लगानी विस्तार गरेमा थप रोजगारीको सृजना गर्न सकिनेछ र यसबाट जनताको आर्थिक स्तर अझ माथि उकास्न सकिनेछ।

अहिलेसम्म जनताले गरेको पौरखमा पगरी गुँथेर बसेका नेताज्यूहरूले हाम्रो हातमा उठेका ठेलाको मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ। उनीहरूले हाम्रो होस्टेमा हैसे गरिदिए भने अझै पनि हामी केही गर्न सक्थ्यौ होला जसले जनताको जीवनशैलीमा कायापलट गरिदेओस्।

श्रीअन्तु द्वैमासिक बाट

-0-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s