एक दिनको तीज एक महिनाको दर

Posted: September 1, 2011 in Srijana Articles
Tags:

-सृजना तिम्सिना (timsinasiru@yahoo.com)

तीजको ब्रतमा दिनभर पानीसम्म नखाई बस्नुपर्ने भएकाले शरीरलाई आवश्यक क्यालोरी रिजर्भ राख्न सकिन्छ कि भनेर अघिल्लो दिन पर्याप्त मात्रामा पोषिलो खानेकुरा खाइन्छ। दर खानुको बैज्ञानिक आधार यही हुनुपर्छ। तर आजभोलि तीजको अघिल्लो दिनको दरखाने विषय एक महिना अघिदेखिनै शुरू हुन्छ। रोजगार लोग्नेका बेरोजगार श्रीमतीहरूले फूर्सद सदुपयोग गरेको भनेपनि सहरीकरणको प्रभाव भनेपनि यो सुरू भएको छ जुन विषयले सबैको सरोकार अलिकति तानेको हुनुपर्छ।
आज एकजनाको घरमा दर, भोलि अर्कीकोमा, पर्सी अर्कीकोमा। तीजको दिनसम्म पनि पालो नपुगेपछि ‘तेरोमा चैं पञ्चमीको भोलिपल्ट है’ भनेको पनि सुन्न पाइन्छ।

खाँदा खाँदा अपच भएर पखाला चलेको, आफ्नो पालोमा बिरामी भएर कार्यक्रम सारेको जस्ता विषयहरू महिलाहरूमाझ गफका लागि निकै चाखलाग्दा विषय हुने गर्छन्।
तेरोमा मीठो कि मेरोमा? तेरोमा धेरै परिकार कि मेरोमा? तेरोमा धेरै निम्तालु कि मेरोमा? भन्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ। त्यस्तै तेरो लुगा राम्रो कि मेरो? तेरा गहना महंगा कि मेरा? वाह! वाह!! भोजैपिच्छे फरक-फरक नयाँ लुगा र गहना लगाउने सबैभन्दा खान्दानी रे। घर व्यवहारले पुगोस् कि नपुगोस् यो सिको सबैले गर्नैपर्ने। त्यति मात्र हैन चुरा पोते टीका र अलि धेरै हुने खानेले महंगा सारी सम्मको उपहार दिने/लिने। सीधा भन्दा शेखासेखी किसिमको होड र अर्को भाषामा भन्दा आडम्बर।
बिहे गरेर पठाएका छोरी चेलीलाई तीजमा माइत ल्याउने हाम्रो पुरानो परम्परा हो। घरको व्यस्तता र सासूको बुहार्तनबाट केही दिन त्राण दिनका लागि भएपनि भरखर भरखर विहे भएका छोरीलाई तीजमा माइत ल्याइन्छ। तर यसमा पनि आडम्बरको गन्ध आउन थालेको छ।
छोरीलाई घर ल्याएर खुवाउने कुरा त पछिको भयो, विवाह भएपछिको पहिलो तीजमा घरबाट छोरीलाई ल्याउन लरतरो प्रयासबाट सम्भव हुन छाडेको छ। सासू-ससूरा र नन्दलाई चित्त बुझाउन नै गाह्रो। सासूलाई गुन्यू, चुरा, पोते, टीका, धागो रे अनि नन्दलाई के के हो। त्यसपछि बास्मती चामलको पोको, मिठाई, फलफूल, मसला लगेर सासूलाई टक्र्याएपछि बल्ल आफ्नी छोरी चेलीलाई माइत ल्याउन पाउने। त्यो पनि सासू खुशी भइन् भनें। यो संस्कार धेरै टाढाको हैन राजधानी उपत्यका भित्रै सुरू भएको चलन रे। मानिस जति धेर धनी हुन्छन् त्यति धेरै आफ्नो मन दरिद्र बनाउँछन् भनेको यही त होइन? लरतरो मानिसले तीजमा छोरीलाई माइत ल्याउन पनि नसक्ने भैसक्यो।
तीजकै बहानामा सही आफन्त साथीभाई भेट हुनु नाचगान रमाइलो गर्नु नराम्रो कुरा होइन। यसले आत्मीयता दरिलो पार्छ र संस्कृति को पनि जगेर्ना गर्छ। तर एक दिन मनाइने तीज एक महिना मनाउँदा यसका अरू प्रभाव के हुन्छन् होला? सोच्ने बेला भएको छ।
नेपाली संस्कृति र परम्परामा तीज जस्ता चाडबाडहरू धेरै छन्। यस्ता चाडपर्वका आ-आफ्नै विशेषताहरू छन्। प्राय सबैजसो चाडपर्वका धार्मिक आधारहरू हुन्छन् र ती चाडबाड मनाउने क्रममा आ-आफ्ना भगवान गुरू वा धार्मिक अगुवाहरूको कुनै न कुनै रूपले सम्झना गरिन्छ। त्यो भन्दा पनि बढी चाडबाडले हामीलाई किन बढी प्रफुल्ल बनाउँछ भने चाडबाडको बहानामा धेरै साथीभाई आफन्तहरूसँग भेट हुन्छ र मीठो परिकार खान पनि पाइन्छ। यहाँसम्मको कल्पना एकदमै मिठासपूर्ण लाग्छ। तर यी सबै प्रक्रियाहरूसँग आउने अरू विषयहरू पनि छन् जसले हामीमध्ये धेरैलाई खङ्ग्रङ्ग बनाउँछ।
यस विषयमा कुनै संस्थागत अध्ययन भएको त थाहा छैन यद्यपि चाडबाडमा हुने अनावश्यक खर्च, निम्तालुको सत्कारमा तँभन्दा म राम्रो भन्ने भावनाले बढाएका अनावश्यक आडम्बरहरू, निम्तो मान्न जाँदा लैजानुपर्ने ‘गिफ्ट’ मात्र होइन जात्रा, भोज र समारोहमा कुन लुगा र के कस्ता गहना लगाएर जाने? भन्ने विषयले सम्भवतः सबैभन्दा बढी मानिसलाई सताउँछ होला।
गाउँमा बस्ने मानिसहरूभन्दा शहरमा बस्ने मानिसहरू धेरै भोज, चाडपर्व वा समारोहमा सरिक हुनुपर्दछ। बढ्दो आडम्बर र पश्चिमी संस्कृतिको नक्कल गर्ने प्रचलनका कारण हामी त्यस्ता उत्सबहरू धुमधामका साथ मनाउछौं, जुन उत्सबको बारेमा २० बर्षअघिसम्म सुनेका सम्म थिएनौं। जस्तै कि भ्यालेन्टाइन डे, फ्रेण्डसिप डे आदि।
गाउँमा बस्ने मानिसहरूमध्ये कतिपयको त आफ्नो जन्मदिन सम्म पनि कहिले आयो र गयो भन्ने पत्तै हुँदैन। थाहा भएकाहरूपनि सधैं काममा व्यस्त रहनुपर्ने भएकाले हर्षोल्लास गर्न पाउँदैनन्। अलि हुनेखानेले पुरेत बोलाएर जन्मोत्सब पूजा गर्छन्, नहुने खेतबारीमा काम गर्न जान्छन्।
यही कुरा शहरमा अलि भिन्दै हुन्छ। कसैको जन्मदिनको विहानैदेखि मोवाइलको घण्टी बज्न थालिहाल्छ। शुभकामनाको आदानप्रदान, त्यसपछि उपहार हुँदै साँझमा केक काट्ने, मोमबत्ती निभाउने र अन्त्यमा भोज, पार्टी, ड्रीङ्क। परिवारका सबै सदस्यको सालैपिच्छे आउने जन्मदिनमा यस्तै खर्च थपिँदै जान्छन् जुन धेरै मानिसले कटाउन चाहन्छन्।
केही मध्यमबर्गीय शहरीया हरू त दसैंको १ हप्ते विदामा तीर्थयात्रा वा अन्य भ्रमणमा निस्किन पनि थालेका छन्। पाहुना सत्कारमा थामिनसक्नुको खर्च अनावश्यक हो। बरू त्यो खर्चले सपरिवार नै एउटा रमाइलो ठाउँमा घुम्न सकिन्छ भने किन नजाने?
एकपल्ट गम्भीरता पूर्वक सोचौं- बढ्दो महँगी, मानिसहरूको बढ्दो व्यस्तता आदिका कारण यस्ता भोजभतेर आयोजना गर्न र निम्तो मान्न पनि ठूलासाना सबै मानिसलाई गाह्रो हुन थालेको छ। अनावश्यक कार्यक्रमको निम्तामा आउने मानिस (गेष्ट) र बोलाउने मानिस (होष्ट) दुवैको समय र पैसा नष्ट गरिरहेको हुन्छ भनें त्यस्ता कार्यक्रम किन कटौती नगर्ने?
तीज, दसैं, तिहार, बाबु-आमाको मुख हेर्ने दिन, माघे-साउने सक्रान्ति, जन्मदिन, न्वारान, पास्नी, ब्रतबन्ध, बिहे-बटुलो र अरूका संस्कृतिबाट हामीले बटुलेका अरू जुनसुकै चाड होस् मनाउने स्वतन्त्रता सबैलाई छ। तर चाडबाड र सांस्कृतिक अनुष्ठानलाई त्यसको हदसम्म मात्र मनाउनु सबैका लागि कल्याणकारी हुन्छ। भनिन्छ नि ‘दिएर कोही आफ्नो हुँदैन, खाएर कोही सन्तुष्ट हुँदैन।’ अब पनि अनावश्यक खर्च कटौती नगर्ने हो भनें यस्ता आडम्बरले हामीलाई भित्रभित्रै भुसुक्कै सिध्याउँछन्।
-०-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s