बाइबाई आकाशवाणी बाईबाई टेलेक्स

Posted: September 1, 2011 in Published Articles
Tags:

“काप बुझी आका गरी तुरी पठाइदिनू”– सुन्दा अलि अश्लील झैं लागेपनि आ.वा.को भाषा यस्तैयस्तै हुने गर्थ्यो। यसको पूरा सन्देश “कागतपत्र बुझी आवश्यक कारवाही गरी तुरून्त रिपोर्ट पठाइदिनू” भन्ने हुन्थ्यो। धेरै लामो सन्देश पठाउन नपाइने तथा अक्षरको आधारमा पैसा लाग्ने भएकाले सकेसम्म कम अक्षरमा सन्देश पठाउने गरिन्थ्यो। यीनै कारणले सन्देशहरू यस्ता हुन्थे। तुरून्त गर्नुपर्ने कामलाई तु. भन्ने चलन अद्यावधि हामीमा छँदैछ। सम्भवतः आ.वा. ले नै नेपाली भाषामा छोटकरी रूपको प्रयोग थालेको हो।

सन् २००८ को अन्त्यसँगै आकाशवाणी अर्थात् आ.वा. र टेलेक्स सेवा बन्द गर्ने सूचना टेलिकमले प्रकाशित गरेको छ। देशका प्राय सबै ठाउँमा टेलिफोन लगायतका आधुनिक दूरसञ्चार सेवा पुगेकाले अब यी सेवा आवश्यक नरहेको ठहर गर्दै बन्द गर्ने निर्णय टेलिकमले गरेको हो।

२००७ सालमा आकाशवाणी सेवा सुरू गर्दा त्यतिबेलाको दूरसञ्चार विभागले जुन वाहवाही कमाएको थियो त्यसको ५८  बर्ष पछि त्यो सेवा बन्द हुँदा गुनासो गर्ने मानिस छैनन्।

देशका दुर्गम ठाउँमा मानिसहरूले आकस्मिक खबर पठाउने सरल माध्यम थियो आ.वा.। आफन्तको दुःख विमार देखि सुखका सन्देश आ.वा. बाट आदान प्रदान गर्न सकिन्थ्यो। अझ भनौं आ.वा. सर्वसाधारण जनताका लागि व्यक्तिगत सञ्चारको गतिलो माध्यम थियो।

दुर्गम जिल्लामा रहेका टेलिकम कार्यालयहरूमा आ.वा. नोट गर्ने अपरेटरहरू चौविसै घण्टा ड्यूटीमा बसेका हुन्थे। टेलिफोनबाट प्राप्त सन्देश तिनीहरूले टिपोट गर्दथे। त्यस्ता सन्देश प्रापकसम्म पुर्‍याउन दूरसञ्चार कार्यालयले नै म्यासेन्जरहरू राखेको हुन्थ्यो। पठाउनेले लेखेर दिएको सन्देश अपरेटरले भन्ने र प्रापक अपरेटरले सुनेर टिपोट गर्ने भएकाले कहिलेकाँही जस्ताको तस्तै सन्देश नपुग्नु आकाशवाणीको खराब पक्ष थियो। एक्यूरेसी कम भएपनि आ.वा. दुर्गम क्षेत्रका बासिन्दाका लागि महत्त्वपूर्ण हुन्थ्यो। खासगरी विरामी र मृत्युका बारेमा सम्बद्द आफन्तबीच आ.वा. बाट सूचना आदान प्रदान हुन्थ्यो। विशेष व्यक्तिहरूको भ्रमण वा महत्त्वपूर्ण कामको लागि ताकेता गर्न सरकारी कार्यालयहरूबीच पनि आ.वा. बाट सन्देशहरू साटिन्थ्यो।

२०२८ सालमा सुरू भएको टेलेक्स सेवा पनि त्यसबेलाका लागि वरदान नै सावित थियो। पठाउने र पाउने दुवैतिर टेलेक्स मेशिन जोडिएको हुन्थ्यो। यताबाट टाइप हुनासाथ उतापट्टि पुगिहाल्थ्यो। सुरूका मेशीनमा पञ्च टेपमा सन्देश रेकर्ड गरिन्थ्यो, पछि आएर फ्लपी डिस्केट प्रयोग गर्नसक्ने डिजीटल मेशिनहरू पनि प्रयोग गरिएका थिए। टेलेक्सबाट देवनागरी र अङ्‍रेजी दुवै भाषामा सन्देश पठाउन सकिन्थ्यो।

फ्याक्स नभएको त्यस जमानामा ट्राभल एजेन्सी, होटल र केही निजी व्यावसायीहरूले टेलेक्स जडान गरेका हुन्थे। चार अङ्कको अलग्गै नम्बर दिइने यो टेलेक्सबाट प्राप्त सन्देश आधिकारिक मानिने हुनाले यो एउटा लोकप्रिय माध्यम बनेको थियो।

यी सेवाका लागि त्यतिबेलाको दूरसञ्चार संस्थानले त्रिपुरेश्वरमा -सेन्ट्रल टेलिग्राफ अफिस- भनेर अलग्गै कार्यालयको स्थापना गरेको थियो। उतिबेला त्यहाँ आ.वा. र टेलेक्स गर्न जाने मानिसहरूको भीडभाड हुन्थ्यो। खासगरी गोरो छाला भएका विदेशीहरू।- लामो समय टेलेक्समा काम गरेका टेलिकमका कर्मचारी मोहनप्रसाद घिमिरे आफ्नो अनुभव सुनाउछन्। – एउटा सानो सन्देश पठाउन कहिलेकाँही त २-३ घण्टासम्म कुर्नुपर्थ्यो।- फ्याक्स सेवा सुरू भएदेखि नै टेलेक्स सेवा ओरालो लागेको अनुभव घिमिरेको छ।

५-६ बर्ष अघिसम्म पनि यसको प्रयोग उल्लेख्य मात्रामा भैरहेको अनुभव टेलिकमका आई.टी. उप-प्रवन्धक दिनेश देव पन्तको छ। उनका अनुसार नयाँ नयाँ प्रविधिहरू आएपछि मानिसहरूले व्यक्तिगत इमेल एकाउन्टहरूबाट सन्देशहरू आदानप्रदान गर्न थालेकोले टेलेक्सको प्रयोग घटेको हो।

पन्त भन्छन्- सूचनालाई सुरक्षित र भरपर्दो तरिकाले पठाउन सकिने भएकाले टेलेक्स को लोकप्रियता बैंकिङ क्षेत्रमा बढी थियो। पठाएको सन्देश जस्ताको तस्तै र तूरुन्तै पठाउन सकिने यो माध्यम बैंकहरूले रकम पठाउन वा प्राप्त गर्न प्रयोग गर्ने गरेका थिए। यसमा किर्ते वा जालसाजी गर्ने त गुञ्जायसै थिएन।

२०४४ सालको सार्क शिखर सम्मेलन भएका बेला मिडिया सेन्टरमा बस्दा टेलेक्सबाट अङ्‍रेजीमा सन्देश पठाउन खोज्ने विदेशी पत्रकारको भाषा नबुझेर हैरान भएका मोहन घिमिरे भन्छन्- अनलाइन च्याटको कल्पना पनि नभएको त्यस समय विदेशका साथीहरूसँग पनि टेलेक्स मार्फत खुब च्याट गरियो।–

दूरसञ्चार केन्द्रीय कार्यालयको २२०१ TELECOMNP मा देश विदेशबाट महत्त्वपूर्ण सन्देशहरू पनि आउने गर्दथे। त्यतिबेला राजालाई विदेशबाट आउने शुभकामना सन्देशहरू प्राप्त गरेर परराष्ट्र मन्त्रालयमा बुझाएको सम्मको अनुभव घिमिरेले गरेका छन्।

उतिबेला लोकप्रिय रहेका दुवै सञ्चार माध्यम समयको गति सँगै अब चल्न छोडेका छन्। सुगम र दुर्गम क्षेत्रबीच आतेजाते गराउने यी पुराना तुहिनबाट वारपार गर्ने मानिस अहिले छैनन् पनि। धेरैका घर-गाउँमा टेलिफोन सेवा पुगिसकेको छ र कयौंका त हात-हातमा मोवाइल पनि। त्यसबेला अक्षर गनेर सन्देश पठाउनुपर्ने महँगो दूरसञ्चार सेवामा अनेकौं सुलभ प्रविधि आएपछि शुल्क पनि उल्लेख्य रूपले घटेको छ। सञ्चारमा निजी कम्पनीहरूको प्रवेश र पुरानै सेवा प्रदायकबाट पनि सि.डि.एम.ए. लगायतका तार रहित सेवाहरू विस्तार गरेका कारण देशका धेरै दुर्गम ठाउँहरू पनि टेलिफोनको सञ्जालमा जोडिएका छन्। अब हातहातमा भएका मोवाइलबाट कुराकानी गर्न त सकिन्छ नै लिखित सन्देश पनि आदान प्रदान हुन्छ।

पछिल्लो समयमा देशका १०-१२ वटा दुर्गम ठाउँहरूमा आ.वा. सेवा सञ्चालनमा रहेका थिए। त्यसैगरी टेलेक्स सेवा चाहीँ केही निजी बैंकहरू र होटल तथा ट्राभल एजेन्सीहरूले प्रयोग गरिरहेका थिए।

यी दुईवटा पुराना प्रविधिका सेवाको अन्त्य सँगै नेपाली टेलिकम्युनिकेशनको इतिहासमा एउटा युगको अन्त्य भएको छ।

टेलिकम्युनिकेशनका आगामी पाइला कतातिर लम्किएलान् भनी पहिल्याउन अब टेलिकम एक्लो छैन। यसले यूटीएल, मेरो मोवाइल, एसटीएम लगायतका निजी दूरसञ्चार सेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गर्दै हिँड्नुको विकल्प पनि छैन। एकातिर बर्षौंदेखिको इतिहास र बुढा/पुराना प्रविधिको प्रयोग, अर्कातिर आधुनिक प्रविधि सहितका निजी कम्पनीहरूसँगको प्रतिस्पर्धा। बीचमा खरो उत्रन सरकारी लगानीको यस कम्पनीलाई समय अनुसार नयाँ प्रविधि विस्तार गर्नुपर्ने वाध्यात्मक अवस्था छ। यी परिस्थितिको मूल्याङ्कन गरेर नै टेलिकमले यी सेवा बन्द गरेको हो।

सन् २००९ को शुरूवात देखि हामीसँग आकाशवाणी र टेलेक्स सेवा छैन। त्यसैगरी उतिबेला लाम लागेर आफन्तलाई आ.वा. गर्न आउने ग्राहकहरू मध्ये पनि धेरैजना अब यो संसारमा छैनन् । जे जति छन् आ.वा. सँगको तीतामीठा अनुभव पनि तिनीहरूको स्मृतिमा मात्र सिमित हुनेछ। अनि इतिहासको पानामा रहनेछ -नेपालमा सन् १९५० देखि टेलिग्राम सेवा सुरू भएको थियो।

सूचनाप्रविधिका दुइटा कोशेढुंगा आ.वा. र टेलेक्स लाई बाईबाई।

Published in Nepal Weekly,

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s