ल्यान्डफोनमा आउँदैछन् विश्वका अत्याधुनिक सेवाहरू

Posted: May 17, 2012 in Published Articles
Tags: , , ,

-गणेश पौडेल, सूचना प्रविधि निर्देशनालय, जावलाखेल 

सुलभता र ‘मोविलिटी’ का कारण मोवाइल सर्भिसहरू लोकप्रिय भई तारयुक्त सेवा बाट ग्राहकहरू विकर्षित हुन थालेपछि त्यसमा अत्याधुनिक ‘भ्यालु एडेड’ सेवाहरू थप्नेतर्फ विश्वका टेलिफोन कम्पनीहरू लागेका छन्।  यसबाट ग्राहकले पनि अत्याधुनिक सेवाहरू पाउने भएका छन्।

मोवाइल सेवाको दाँजोमा तारयुक्त सेवाको राजश्व घटिरहेको स्थितिमा त्यस्ता फोनको संख्या नै घट्दा कम्पनीको राजश्व झन् घट्ला कि भन्ने चिन्ता बढिरहेकै बेला विद्यमान उपकरणहरूको अत्याधिक उपभोग गरी नयाँ सेवामा लगानी गर्नुपर्ने विचार पनि कम्पनी भित्र उठ्न थालेको छ। कम्पनीका सूचना प्रविधि निर्देशनालयका विकास प्रवन्धक लोचन लाल अमात्य कूल लगानीको १० देखि २५ प्रतिशत मात्र थप गर्दा नयाँ सेवा सञ्चालन गर्न सकिने र त्यसबाट ४० देखि ५० प्रतिशत आम्दानी बढाउन सकिने वताउनुहुन्छ।

के हुन सक्छन् त नयाँ सेवा?

कम्पनीले विद्यमान उपकरणको अत्याधिक उपयोग गर्दै थोरै थप लगानीमा तत्काल सञ्चालन गर्न सक्ने केही सेवाहरू बारे यहाँ चर्चा गरिएको छ। 

मोवाइल वालेट (मोवाइल ब्याङ्किङ): कम्पनीले विद्यमान पूर्वाधारहरूको प्रयोग गरी चलाउन सक्ने एउटा सेवा ‘मोवाइल वालेट’ हो। यसमा मोवाइल सेवा अपरेटरको मध्यस्थतामा उसको नम्बरको एकाउन्ट बैंकमा खोलिन्छ। शहरका विभिन्न ठाउँमा रहने व्यापारीहरूले त्यसको एजेन्टको रूपमा काम गरेका हुन्छन्। 

त्यस्तो मोवाइल नम्बरमा २ प्रकारका रिचार्ज हुन्छन्। एउटा ब्यालेन्सले कल गराउँछ भनें अर्को ब्यालेन्स बैंक खातामा जम्मा हुन्छ। त्यो रकम चाहेको समयमा विभिन्न एजेन्ट मार्फत नगदमा परिणत गर्न अथवा खर्च गर्न सकिन्छ। मोवाइल धनीले एसएमएस मार्फत खर्च गर्ने निर्देशन दिएपछि पसलेले त्यसको जानकारी मोवाइल अपरेटरलाई पठाउँछ, त्यो अपरेटरबाट धनीलाई एसएमएस मार्फत त्यसको पुष्टि मागिन्छ, उसले स्वीकृत गरेपछि कारोवार हुन्छ र उसको एकाउन्ट बाट रकम घट्छ। 

मोवाइल धनीले सामान्यतया आफ्नो मोवाइलमा यति पैसा छ भन्ने मात्र बु137दछ। उसको बुझाइको ‘सुकिला मानिसहरू मात्र जाने बैंक’ सम्म उसले जानु पर्दैन बाटोबाटै उसले बैंकिङ कारोवार गरिरहेको हुन्छ। आफूले कमाएको पैसा देशभर चाहेको ठाउँमा सजिलैसित पठाउन पनि सक्दछ। यो सेवा ग्राहकलाई दिइने अलग्गै पीनकोड बाट नियन्त्रित हुने भएकोले मोवाइल हराएमा पनि पैसा हराउँदैन।

अल्पविकसित देशमा निम्न आयस्तरका ज्यामी, भरिया, ठेलावाल इत्यादिले मेहनत गरेर दिनमा ४-५ सय रूपैयाँसम्म कमाउने तर त्यो पैसा बचत गर्न नसकेको तथ्याङ्क हरूबाट देखिएको छ। उनीहरू बैंकको नामैदेखि डराउने भएकाले पैसा बचत गर्न सक्दैनन्। त्यस्तो निम्न आयस्तरलाई लक्षित गरेर भारत, बाँग्लादेश श्रीलङ्का जस्ता देशहरूमा सुरू गरिएको ‘मोवाइल वालेट’ सेवा सफल भएको छ।

भिडियो अन डिमाण्डः कम्पनीले दिन सक्ने अर्को अत्याधुनिक सेवा ‘भिडियो अन डिमाण्ड’ हो। ग्राहकलाई चाहेको भिडियो चाहेको समयमा दिनु यो सेवाको विशेषता हो। 

शिक्षा क्षेत्रले यो पूर्वाधारको अत्याधिक प्रयोग गर्न सक्छ। अहिले रेडियोबाट चलाइने दूरशिक्षामा एकातर्फी रूपमा पढाइने भएकोले त्यसमा सुन्नेले कुनै प्रतिकृया जनाउन सक्दैन। आई टी पूर्वाधार बनाउन सकेमा त्यस्ता दूर शिक्षालाई पनि अन्तरकृयामुखी बनाउन सकिन्छ। जसबाट प्रष्ट हुन नसकेका कुराहरूको फीडब्याक तत्काल पठाएर कार्यक्रमको अन्त्यमा त्यसको समेत प्रष्टिकरण लिन सकिन्छ।

स्कूल र विश्वविद्यालय स्तर सम्मका कुनैपनि विषयको स्तरीय नेपाली लेक्चर निश्चित रकममा उपलब्ध गराउन सकिन्छ। प्रति लेक्चरको निश्चित रूपैयाँमा दिने व्यवस्था मिलाएमा ग्राहकले पनि सजिलै हेर्न पाउने र त्यसको रकम लेक्चररले एकमुष्ट पाउने हुन्छ। यसमा ‘कन्टेन्ट होस्ट’ गर्न कम्पनी आफैं वा अर्कै पक्षलाई पनि दिन सकिन्छ। बिलिङ सिस्टमहरूले कन्टेन्ट हरूको आधारमा पैसा उठाउने र त्यसको रेकर्ड राख्ने गर्दछन्। 

कतिपय राम्रो शिक्षकहरू जो ट्यूसन पढाउँछन्, तिनीहरूलाई भ्याइ-नभ्याई हुन्छ। यता राम्रो शिक्षकसँग पढ्ने समय नमिलेर विद्यार्थीहरू पनि दुःख पाइरहेका हुन्छन्। त्यस्तो शिक्षकले आफ्नो सिमीत समयलाई बढी भन्दा बढी विद्यार्थीमाझ बाँड्नसक्छ। अहिले राम्रो ट्यूसन पढाउन अविभावकहरू महिनाको ६-७ हजार पनि खर्च गर्दछन् भनें यता शिक्षकले पनि बढीमा २०-२५ हजार कमाउँछन्। यदि त्यो प्रविधि ल्याउने हो भने उसले मल्टिमिडिया क्यामेरा जोडेर एकैचोटी सयौं विद्यार्थी पढाउन सक्छ। अविभावकले पनि ४-५ सय तिरे पुग्ने उता शिक्षकले पनि महिनामै लाखौं रूपैयाँ कमाउने हुनाले राज्यको नाश भैरहेको पैसा जोगिन्छ। मध्यस्थता गरे वापत निश्चित रकम कम्पनीले पाउने भएकाले यो सेवा जति धेर चल्छ त्यति नै धेर आम्दानी हुन्छ। त्यसैगरी बच्चाहरूले इन्टरनेटमा खोजेको लेक्चर नपाउने र उनीहरू नचाहिने कुरा हेर्न तर्फ तल्लिन हुने कुरा रोक्न पनि सकिन्छ। त्यसैगरी किशोर -किशोरी स्वास्थ्य इत्यादिको विषयमा शिक्षा दिन सकिन्छ। 

आइपी टीभीः कम्पनीले सम्भाव्यता अध्ययनको क्रममा राखेको अर्को नयाँ सेवा हो ‘आईपी टिभी’। यो सेवा कम्पनीले स्याटेलाइट टिभीको लाइसेन्स लिएर ग्राहकको टेलिफोन लाइन मार्फत तत्कालै वितरण गर्न सक्दछ।

प्रवन्धक अमात्य भन्नुहुन्छ सिद्धान्ततः एडीएसएलमा अहिले हामीले प्रयोग गरिरहेको केबुलबाट ५१ मेगाविट सम्मको सिग्नल पठाउन सकिन्छ भन्ने प्रमाणित भएको छ। अन्य देशहरूमा अहिले १५ मेगाविट र नेपालमा ७ मेगावीट सम्मको सफल परिक्षण भैसकेको छ। त्यसैले यो सेवा तत्काल वितरण गर्न सम्भव देखिएको छ। यसमा एमपेग ३ वा एमपेग ४ कम्प्रेसनको ‘हाइ डिफिनिसन सिग्नल’ पठाउन सकिने भएकोले टेलिभिजन प्रशारणको स्तरमा क्रान्ति नै आउने दावी उहाँ गर्नुहुन्छ। 

‘आइपि टिभी’को मुख्य विषेषता त्यसमा आउने च्यानलहरूलाई टाइम सिफ्ट गरेर दिउसो आउने कार्यक्रम बेलुकी गरेर हेर्न सकिनु हो।

केबुल टिभीको सिस्टममा सबै च्यानलका सिग्नलहरू एकैचोटी पठाइन्छ तर ‘आइपी टीभी’मा एमडीएफ सम्म सबै टिभिको सिग्नल आउने भएपनि ग्राहकले जुन च्यानल हेर्न चाहन्छ, उसको केबुलमा चैं त्यही च्यानल मात्र पठाइने भएकोले क्वालिटी एकदमै राम्रो हुन्छ। यसमा ग्राहकले ४-५ वटा च्यानल एकैचोटी ‘विन्डो स्प्लीट’ गरेर पनि हेर्न सक्दछ। 

५ सय लाइन ग्राहक भएको एउटा अपरेटरले कुनै सशुल्क च्यानल प्रशारण गर्न त्यति नै लाइसेन्स लिनुपर्ने हुन्छ। तर सबै ग्राहकले त्यो हेरेको हुँदैन। आईपी टीभीमा कसले के हेरेको छ भन्ने रेकर्ड पनि हुने भएकोले उसले एक पटकमा कति जनाले हेर्छन् भनेर फोर्कास्ट गर्न सक्दछ र त्यही मात्रामा लाइसेन्स लिँदा ग्राहकलाई कम पैसामा त्यो सेवा पुर्‍याउन सक्ने हुन्छ।

यता कम्पनीका प्रवक्ता थिके अहिले तत्काल टेलिकास्ट तिर जाइहाल्ने अवस्था नरहेको बताउनुहुन्छ। यद्यपि नयाँ क्षेत्रमा ‘बिजिनेस एभेन्यू’ खोज्न सकिने उहाँको तर्क छ।

आई. भी. आर.ः ‘इन्ट्रयाक्टिभ भ्वाइस रेस्पोन्स अर्थात् ‘आईभीआर’ टेलिकमले निकै पहिलेदेखि सुरू गरेको प्रविधि हो। टेलिकमको सेवा प्रयोग गर्ने एकथरी ग्राहकहरू धेरै किसिमका सेवाहरू प्रयोग गरी बढी शुल्क तिर्छन् जसलाई हामी कम्पनी भित्र ‘हाइ इण्ड’ ग्राहक भन्दछौं।  अर्कातिर कम सेवा प्रयोग गर्ने साधारण अर्थात् ‘लो इण्ड’ ग्राहकहरू छन्। ‘आईभीआर’ प्रविधिको प्रयोग गरी ‘हाइ इण्ड’ ग्राहकले विभिन्न सेवा उपलब्ध गराउँछन् जून सेवा त्यही नेटवर्क प्रयोग गरी ‘लो इण्ड’ ग्राहकहरूले प्रयोग गर्दछन्। अहिले प्रयोग भैरहेको भ्वाइसमेल र नोटिसबोर्ड सर्भिस जस्ता सेवाहरू त्यसका उदाहरण हुन्। 

नोटिसबोर्डमा एकै समयमा सयौं ग्राहकले फोन गरी एउटै सन्देश सुन्न सक्छन्। यसबाट माथिल्लो ग्राहक र साधारण ग्राहक बीचमा नयाँ किसिमले सम्बन्ध हुने र कम्पनीले पनि कलको पैसा पाउने हुन्छ। यसमा हाम्रो पूर्वाधार प्रयोग हुँदा तिनवटै पक्षलाई फाइदा हुन्छ। नोटिसबोर्डको नम्बरमा राखिने सूचना छिन-छिनमा फेर्न पनि सकिन्छ। जस्तो कि बन्द वा हडतालका कारण कुनै स्कूल अकस्मात बन्द हुने भएमा तत्काल अविभावकहरूलाई सूचित गर्न सकिँदैन। धेरै जना अविभावकहरूले स्कूलमा एकैचोटी फोन गर्दा एक त सबैको फोन नलाग्न सक्छ र सबैको फोन उठाउन सम्भव पनि नहुन सक्छ। यदि त्यो स्कूलले आफ्नो साधारण ल्याण्डलाईनमा नोटिसबोर्ड सेवा राखेमा त्यस्तो सूचना सजिलैसित सबैलाई दिन सक्दछ। ‘आईभीआर’ मा अरू पनि धेरै सेवा ल्याउन सकिन्छ।

के अब ल्याण्डलाईन टेलिफोन आउट डेट भएकै हो त?

होइन। मोवाइलको सङ्ख्या बढ्दै गएकोले ल्याण्डलाईन बाट वैदेशिक कल वापत प्राप्त हुने राजश्व केही मात्रामा घटेको कुरा कम्पनीले स्वीकारेको छ तर लाइन सङ्ख्या बढेकोले लोकल कलको राजश्व बढेको दावी कम्पनीका प्रवक्ता सुरेन्द्र प्रसाद थिकेको छ। “यो विश्वव्यापी ‘फिनोमिना’ हो तर ल्याण्डलाईन प्रतिको आकर्षण नै घटेको भन्नेमा मेरो विश्वास छैन” थिके भन्नुहुन्छ “ग्राहकको माग अनुसारको ल्याण्डलाईन अझसम्म पनि वितरण गर्न सकिएको छैन।” 

मोवाइल सेवाको उपलब्धताले एकातिर देशको टेलिफोन मागलाई धान्न सरल भएको छ भनें अर्कातिर आर्थिक गतिविधिमा पनि बृद्धि गरेको छ। त्यसैले समयानुसार मोवाइल सेवा वितरण गर्ने र तारयुक्त सेवालाई पनि विस्तार गर्दै लैजाने कार्यक्रम कम्पनीले बनाएको छ।

अहिले भ्वाइस, डाटा मोवाइल इत्यादि भनेर लेखाजोखा हुने प्रविधिलाई तुरून्त आउन लागेको ‘भिओआईपी’ ले अन्त्य गर्ने बताउनुहुन्छ प्रवन्धक अमात्य। उहाँ भन्नुहुन्छ “जब प्याकेटमा डाटा आदान प्रदान हुन्छ त्यसपछि भ्वाइस र डाटा भन्ने कुरा बीलमा नै रहँदैन।”

कम्पनीले तत्काल ल्याउन लागेको सिप सर्भिस बाट भ्वाइस डाटा नभनी एकैचोटी मल्टिमिडिया प्याकेज पठाउने प्रविधि सुरू हुने बताइएको छ। सिप सर्भिसमा एउटा यूनिक नम्बर दिइन्छ जसमा रोमिङ सर्भिस पनि हुन्छ जसबाट देशभर जहाँ गएपनि यो सेवा चलाउन सकिन्छ। हाललाई कम्पनीलेे तीस-चालिस हजार लाइन सिप सर्भिस ल्याउने तयारी गरेेकोे छ।

मोवाइल उपकरण चोरी नियन्त्रण

कम्पनीको व्यापार राम्रो हुनमा यसका ग्राहकहरू सन्तुष्ट हुनु पनि एउटा मुख्य पक्ष मानिन्छ। दिनहुँ सयौं ग्राहकका मूल्यवान मोवाइल सेटहरू हराइरहेका हुन्छन्। त्यसरी हराएका सेट अरूले प्रयोग गर्न नसक्ने सिस्टम ल्याएमा कम्पनी प्रतिको विश्वास झन् बढ्दछ। 

मोवाइल सेट हराउने कार्य निरूत्साहित गर्नका लागि अपरेटरहरूले विभिन्न उपायहरू अपनाएको पाइन्छ। जसमध्ये ‘इक्यूपमेन्ट आइडेन्टिटी रजिस्टर’ अर्थात् ‘इआईआर’ भन्ने सिस्टम निकै सफल देखिएको छ। यो सिस्टममा फलानो सेट फलानो नम्बरका लागि खटाइएको छ भनेर रेकर्ड रहन्छ। ग्राहकले फोन गर्दा त्यो सेटबाट तोकिएको नम्बरको कल मात्र चल्ने नत्र नचल्ने गराउन सकिन्छ। ग्राहकले सेट फेर्न चाहेमा त्यसलाई पुनः रजिष्टर गराउनुपर्छ।  

टेलिकममा पनि ‘इआईआर’ ल्याउने तयारी भैरहेको मोवाइल सेवा निर्देशनालयका बरिष्ठ इन्जिनियर सञ्जिब देव बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ यो प्रणाली लागू गर्न सबै मोवाइल सेवा अपरेटरहरूमा यो सिस्टम उपलब्ध हुनुपर्छ। मेरो फलानो ग्राहकको सेट हराएको छ त्यहाँ आएमा नचलाउनू भनेर अपरेटरहरूले आपसमा जानकारी पठाउने र त्यस्तो नम्बरलाई ब्ल्याकलिस्ट गरेर नचल्ने गराउन सकिन्छ।

प्रविधि त्यस्तो कुरा हो जसलाई छेकेर छेक्न सकिँदैन। निजी इन्टरनेट सेवा प्रदायकहरूको अनेकौं षड्यन्त्रलाई निस्तेज पार्दै अहिलेको लोकप्रिय एडिएसएल सेवा सञ्चालन गर्न जसरी टेलिकम सफल भयो त्यसैगरी नयाँ सेवाहरू ल्याउन र तिनलाई कार्यान्वयन गर्न कम्पनी व्यवस्थापन दृढतापूर्वक कृयाशील रहनु पर्दछ। विश्वासपूर्वक सबैले आ-आफ्नो कर्तव्य पूरा गरेमा अहिले हामीले कल्पना नै नगरेका सेवाहरू ग्राहकलाई उपलब्ध गराउन सकिनेछ।

नेपाल टेलिकमको स्मारिका बाट

-०-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s