स्कूलको बार्षिकोत्सव र फुक्न नपाएको बेलुन

Posted: December 24, 2014 in सामयिक टिप्पणी (Contemporary issues)
Tags: , , , ,

-गणेश पौडेल-

मंसीरको साताभित्रमा ‘ठूलो जाँच’ अर्थात् बार्षिक परीक्षा सकिन्थ्यो। जाँच सकिएपछिका दिन हाम्रा लागि बर्षभरीकै सबैभन्दा रमाइला दिन हुन्थे। स्कुल छुट्टी भएको हुँदैनथ्यो त्यसैले दिनभरी घरको काम गर्नु पर्दैनथ्यो। बिहान उठेर गाईबस्तुको थला भकारो, खोलेपानी गर्ने र दुहुने कामपछि एकभारी घाँस काटेर ल्याउँदा बिहानको खाना खान पाइने। दशैं सकिँदा नसकिँदै देखि डालेघाँस र अम्लिसो काट्न पाइने भएकोले भुईंघाँस काट्न जस्तो ढीला हुँदैनथ्यो। ९ बज्दा नबज्दै खाना खाइवरी स्कूल पुगेर एकछिन खेल्ने
र घन्टी बजेपछि ‘प्रेयर लाइन’मा बस्न कुद्ने अरुबेलाको नियमितता ‘ठूलो जाँच’ सकिएपछि फेरिन्थ्यो।

विहान कक्षामा ‘रोलकल’ भैसकेपछि सरले सीधै खेलमैदान लैजान्थे। त्यहाँ सबै कक्षाका विद्यार्थीहरू जम्मा भैसकेपछि पहिला चउरमा भएका ढुंगा र काठपात टिपाउँथे। अनि ‘पिटी’ बाट सुरू हुन्थ्यो खेलको अभ्यास। सामान्यतया आधा दिन स्कूल लाग्ने भएपनि आम विद्यार्थीको काम १ घन्टाको अभ्यासपछि सिद्धिन्थ्यो। त्यसपछि फूटबल खेल र नाटक, नृत्य आदिमा भाग लिएका हरूको मात्र काम हुन्थ्यो। अरू सप्पै डाँडाभरी र पाखाभरी। कोही कटुस खोज्न जंगलतिर पस्थे, कोही बाँसका खबटा बटुलेर फिरफिरे बनाएर बतासे डाँडामा घुमाउँथे। केटीहरू चैं सानो चउरमा गेम थापी, ५ ढुंगे, लुकामारी आदि खेल खेल्थे।

मंसीर भरजसो आकाश सफा हुन्थ्यो। सबैका खेतमा धान पाकेका, काट्ने, बिटा लाउने कामको चटारो हुन्थ्यो। केटाकेटीको स्कूल शुक्रबार विहान लाग्ने र शनिबार पनि छुट्टी हुने भएकाले धेरैजसोले यी २ दिनलाई यस्ता काम साँचेर राख्थे। घाम लागिरहेको खुला आकाशमा कहिलेकाहीँ अकस्मात बादल मडारिन्थ्यो। कालो बादल सँगै किसानहरूको मन पनि चिन्ताले मडारिन्थ्यो, असीना पानीले पाकेको बाली भित्र्याउन नदेला भनेर। असिना पर्‍यो भने धान सखापै पार्थ्यो। पानी परेपनि काटेको धानको पराल भिजाउँथ्यो। नकाटेकै धान पनि बिगार्थ्यो।

सालभरको मेहनत एकदिनको असीनाले स्वाहा पारिदिँदा मुख मलीन बनाउनु बाहेक अरू कुनै उपाय हुँदैनथ्यो। त्यसबेला लाग्थ्यो, धान पाकेपछि फटाफट काटेर भेला गरिहाल्नु, झारिहाल्नु नि। किन सुकाउनु? पराल सहित धान सुकाउने त्यो परम्परागत चलन एउटा फुच्चेले भन्दा कसले छाड्थ्यो र?

काटेर खेतमै सुकाएको धान सहितको पराललाई ‘नीन’ भन्थे। स्कूलबाट खेततिर कुद्दा ‘नीन’ टेकिदेलान् भन्ने त्राही त्राही हुन्थ्यो आसपासमा खेत हुनेहरूलाई। ‘नीन’ टेक्दा खुट्टा भाँचिने गरी पिटाई खाने केटाहरू मेरा मिल्ने साथीहरू तोया, ठाकुरे, मित्र, रुद्र, गोरे, मने, आइते, बीरे, चक्रे आदिमध्येका कोही हुन्थे। धन्न मैंले चैं त्यो सजाय पाइनँ। कटुस टिप्न जाँदा कटुसको काँडा भएको पाखोमा लडेर तिघ्रा, पाखुरा र छातीसम्म ददारेर आएको छु एक दिन। यत्ति हो।

गाउँको सिरानको डाँडोमा थियो स्कूल। पानी परेसँगै स्कूलको सीधा पारीपट्टिको चित्रे, जौबारी, तुम्लिङ आदि लेकमा हिँउ पर्थ्यो र हिउँदभरी पग्लिँदैनथ्यो। मुटु कटक्कै पार्ने हिउँको चिसो हावा सीधै स्कूलमा आइपुग्थ्यो। ससाना केटाकेटी खाली खुट्टा एउटा पातलो कमीज र पेन्टको भरमा हुन्थे। कतिपयका कमीजका टाँकहरू खुस्किसकेका हुन्थे, तल दुइतिरको फेरका चोसा बाँधेर अड्याउँथे। खेल्न पाएपछि चिसोको पत्तै हुँदैनथ्यो, उसमा पनि केटाकेटीको जाडो बाख्राले खान्छ भन्ने हामी सबैलाई थाहा थियो। के को पीर।

मंसीरको अन्तिम साता सम्ममा गीतमा नाच्ने र नाटकमा खेल्ने पात्रको चयन भैसकेको हुन्थ्यो। अनि सुरु हुन्थ्यो गोप्य रिहर्सल। पहिले टीका गुरुमा र पछि किशोरा गुरुमाले यस्ता रिहर्सलको संयोजन गर्दथे। एकचोटी रूपा भन्ने दिदी मधेशतिरबाट आएकी थिइन् तिनैले गरिन्। भाग लिने बाहेकका लाई बाहिरै राखेर बन्द कोठाभित्र रिहर्सल हुन्थ्यो। नाटकको रिहर्सल चैं निर्देशक सरहरूले गर्थे। त्यसमा धेरैजसो केशव सर, पूर्ण सर, नारान सर र हेडसर मध्ये कोही हुन्थे। कहिले कहिले रिहर्सल हुने कोठाभित्र पहिले नै सुटुक्क पसेर डेस्कमुनी लुकि हेरिन्थ्यो तर थाहा पाए भने गलहत्ती पार्थे।

पुष ८ र ९ गते विद्यालयको वार्षिकोत्सव पर्दथ्यो। ८ गते खेलकुद सम्बन्धि गतिविधिहरू हुन्थे ९ गते सांस्कृतिक कार्यक्रम। सबै अविभावकहरूलाई निम्ता जान्थ्यो। प्राय सबै उपस्थित हुन्थे।

बिहानैदेखि ठूल्ठूला बाल्टीजस्ता माइक स्कूलको छानामा २ तिर फर्काएर जोडिन्थ्यो। डोकामा बोकेर ल्याएको ठूलो ब्याट्री जोडेको ठाउँमा बसेको अप्रेटरले कालो-कालो कोदाको रोटीजस्तो ‘रीकर्ड’ एउटा भाँडोमा राख्थ्यो। त्यसलाई ब्याट्री जोडेर फनफनी घुमाएपछि माइकले कान फुट्ने आवाजमा गीत गाउँथ्यो। पारी ढोडे, आहाले तिर माइक बजाउँदा यहाँ सजिलै सुनिन्थ्यो यहाँको पनि वारिपारि सबैतिर सुनिन्थ्यो होला। यहाँ माइक बजाएका बेला पारी गएर सुन्ने मौका परेन। एकैछिनमा हेडसरले माइकबाट हलो, हलो, हलो भनेर कार्यक्रम चलाउन थालिहाल्थे।

केटा र केटीका लागि अलग अलग दौड हुन्थ्यो। केटीहरूका खेलमा चम्चामा गुच्चा राखेर मुखले च्यापेर दौडने, सियो र धागो लिएर जोडीले उन्दै दगुर्ने, धागोमा झुण्डाएका सुन्तला हात पछाडी बाँधेका बच्चाले मुखले टिपेर ल्याउनुपर्ने आदि रमाइला खेलहरू हुन्थे। केटाहरूको दौड, फूटबल, छेलो, हाइजम्प, लङ जम्प, भाले जुधाई आदि हुन्थे।

साना केटाकेटीका लागि लुगा रेश हुन्थ्यो, जसमा एकैठाउँमा मिसाइएका लुगाबाट आफ्ना लुगा छानेर लाइसक्नु पर्दथ्यो।

धेरैजसो अभिभावक आफ्ना केटाकेटीको खेल हेरेर सहभागी हुन्थे। कोही भने अभिभावकलाई छुट्याइएका खेलमा सहभागी पनि भैहाल्थे। त्यस्ता खेलमा हाँडी फोर्ने, तातो आलु, लङ जम्प, हाइ जम्प, ज्याब्लिङ आदि पर्थे।

८ र ९ गते दिनभर मेला जस्तै हुन्थ्यो। चउरको एउटा कुनामा आरावाल्नीले थुन्सेबाट बदाम, अत्तरे मिठाई, पान आदि झिकेर बोरामा दिउसैदेखि पसल थाप्थी। केटाकेटी चाराना आठाना पैसा बोकेर आएका हुन्थे। त्यसले मन परेको कुरा किनेर खाइहाल्थे पछि बाबु आमा आएपछि दिनभरी यस्तो किन्दे भनेर पिर्थे। कुनै केटाकेटी अर्कोको बाउ आमाले केही किन्देला र त्यसले आफूलाई पनि अलिकति देला भनेर आशामुखी भएर बसेका हुन्थे।

केटाकेटीका बाउआमा आफ्ना नानीहरूको खेलकुद हेरेर खुब रमाउँथे। बच्चाको गतिविधिमा सालभरीमा अभिभावक सहभागी हुने त्यही एक दिन त थियो।

साँझ पर्न लागेपछि पुरस्कार वितरण सुरु हुन्थ्यो। पहिले ‘ठूलो जाँच’मा पहिलो, दोश्रो, तेश्रो हुनेको पालो आउँथ्यो, त्यसपछि आजको खेलकुदका विजेताको पालो। पुरस्कारमा धेरैजसो कापी कलम नै हुन्थ्यो। त्यै पनि कस्को कापी ठूलो र कसको कापी धेरै भन्ने प्रतिस्पर्धा हुन्थ्यो। हाजिरी जवाफ वा हिज्जे प्रतियोगितामा बरू जितियो तर खेलकुदमा भाग लिएपनि मैंले कहिल्यै स्थान लिन सकिनँ। पहिला वा दोश्रा भएको पुरस्कार प्रायजसो म पनि थाप्थेँ।

पुरस्कार वितरण पछि मानिसको भीडमा चकलेट फ्याँकिन्थ्यो। त्यो टिप्न भुराभुरी देखि बुढाबुढीसम्म सबै झुम्मिन्थे। धेरैले पाउँथे, कसैकसैले भेट्टाउँदैनथे।

पुष ९ गते पनि हामी विद्यार्थीहरू प्रायजसो ९ बजे नै स्कूल पुगिसक्थ्यौं। अनि बाँस, काठ आदि संकलन गर्ने काम सुरू हुन्थ्यो।

हामी भुराहरूलाई नागबेलीको लहरा लिन पाखातिर खटाइन्थ्यो। धेरै संकलन गरेर ल्याउँथ्यौं। त्यसले विद्यालयको दुवैतिरका बाटामा बाँस र काठ बाँधेर बनाइएका प्रवेशद्वार हरियो बनाएर सजाइन्थ्यो। ठूलो गाताको कागजमा रातो मसीले ‘स्वागतम्’ लेखेर टाँगिन्थ्यो। ब्यानर चैं कपडामा नै लेखिन्थ्यो

“श्री शिवमाई नि.मा.वि. प्रेमेजुङ …..‍औं बार्षिकोत्सव।“

अलि ठूला केटा र सरहरू नाटकको स्टेज बनाउन लाग्थे। १२ बजेसम्ममा स्टेज बनाइवरी पर्दा हाल्ने काम सकिन्थ्यो अनि सुरू हुन्थ्यो नाटक, प्रहसन र नाच गानको मिश्रित प्रस्तुति।

गाउँका रसिकहरू यी गतिविधिमा संलग्न हुन्थे। नाटक गाउँमा चेतना जगाउने किसिमको हुन्थ्यो। नाच्न र गाउन चलन चल्तीका लोक र झ्याउरे गीतहरू हुन्थे। प्रहसनमा त राजनीतिक घोचपेच सहितका प्रस्तुति हुन्थे। बर्षमा एकदिन हुने यो सांस्कृतिक कार्यक्रमले पञ्चायतका अन्तिम वर्षहरूमा जनतामा क्रान्तिको राँको झोस्न मद्दत गरेको थियो।

पुषको छोटो दिन दिउसोको शो सकिँदा साँझ पर्न लागिसकेको हुन्थ्यो।

हतार हतार घर गएर बाख्रालाई दानापानी खुवाएर खोरमा हुल्ने, गाइको खोले भकारो गर्ने, तरकारीमा पानी हाल्ने अनि आँगल बढार्ने काम भ्याउन निकै कठीन पर्थ्यो। बेलुकाको भात राम्रोसित पाक्न पाउँदैनथ्यो काँचोकाँचै २-४ सिता च्यापेर उकालो कुदिन्थ्यो।

स्कूल पुग्दा साँझ परिसकेको हुन्थ्यो। सरहरू मेन्टोलमा दम दिएर बाल्न थालिसकेका हुन्थे। अँध्यारो छिप्पिँदै जाँदा मानिसको भीड बढ्दै जान्थ्यो। मेन्टोलले बिजुली जत्तिकै उज्यालो दिन्थ्यो। रातीको शो मा बुढाबुढी र केटाकेटीको संख्या निकै कम हुन्थ्यो तर भीड निकै बढेको हुन्थ्यो। तरुण तन्नेरीहरू खाँदाखाँद गरेर बसिसकेका हुन्थे।

चउरको छेउमा आरावाल्नीको पसल सँगै लमिनीको पसल पनि लागिसकेको हुन्थ्यो। साँझमा आरावाल्नीको बाट बदाम सँगै चुरोटको बिक्री बढ्थ्यो। तर लमिनीको झोल पसलले आरावाल्नीको दिनभर र रातभरको व्यापारलाई माथ दिन्थ्यो। ‘व्यापार अरूथोकको पनि निक्कै हुन्छ’ भनेको सुनिन्थ्यो, देखेका पसल तिनै २ वटा हुन् अरूले पसल थापेको देखिँदैनथ्यो, अँध्यारोमा लुकेर के किनबेच गर्थे कुन्नि?

अरुबेला हामी केटाकेटीहरू घाँसपात गर्दा खन्युको सुकेको पात माडेर मकैको खोसेलामा बेह्रेर बिंडी खान्थ्यौं। ठुला हरूले नदेख्ने गरी लुकेर खाँदा निकै रमाइलो हुन्थ्यो। पसल अरुबेला देख्न पाइँदैनथ्यो। पुष ९ गते राती अँध्यारो भएपछि हामी पनि बिंडी किनेर कुनातिर लुकेर खान्थ्यौं र आफूलाई ठूलो मानिस भएको ठान्थ्यौं। ठुलाले नदेखुन्जेल रमाइलो हुन्थ्यो, देखे भने ‘राम धुलाई’। हामी केटाकेटीले बिंडी खाएजस्तै ठूला मानिसले पनि लुकेर खाने केही कुरा हुँदो हो।

२-४ वटा मेन्टोल अगाडी मञ्चका छेउछाउमा बालिन्थे अरुतिर अँध्यारै हुन्थ्यो। मञ्चको अगाडी भुईंमा परालको धुस्नु फिँजाइएको हुन्थ्यो। भीडभाड बढ्दै गएपछि मानिसहरू अझ खँदिलो भएर बस्थे। बस्थे के भन्नु धेरैजसो मानिस चउरको तलसम्म उभिएकै हुन्थे।

कान खानेगरी माइक बजिरहेको हुन्थ्यो। आमने सामने भएर कुरा गर्न पनि चिच्याएर बोल्नुपर्थ्यो। ५ भाग १५ दृष्य भएका नाटक बीचबीचमा गीत, नृत्य, प्रहसन कार्यक्रम धेरै लामो हुन्थ्यो। नाटकको हिरो र भिलेनले प्रयोग गर्ने माइक एउटै हुन्थ्यो। ‘डाइलग’ बोलिसकेपछि अर्कोलाई माइक दिनुपर्थ्यो।  काटुँला-मारुँला जस्तो डाइलग बोलेर उसैलाई माइक दिँदा नाटक हाँसो उठ्दो हुन्थ्यो।

रात र जाडो बढ्दै गएपछि दर्शकको भीडमा हल्लाखल्ला बढ्दै जान्थ्यो। सुनिन्थ्यो – अर्काको काखीमुनी हात ल्याउने कुन चाहीँ हो? कसैले भन्थ्यो – उफ् कस्तो गन्हाएको? कसैले भन्थ्यो – एउटा बिँडी देऊ न, अर्कोले भन्थ्यो – काँ मान्छेका बीचमा सिग्रेट खाएको? पछिल्लो लहरमा रमरम भएर राता राता आँखा पारी नाटक हेरिरहेका धेरैजना हुन्थे। अर्को छेउमा मानिसहरूको घेरा लागेको हुन्थ्यो। घेराभित्र खोयाबिर्केको तालमा मस्त भएका १-२ जना हुन्थे।

पुष १० गतेको स्कूल बेहुली अन्माएको घरजस्तो हुन्थ्यो। चउरभरी धुस्ने पराल, डोरी र बदामका बोक्रा छरिएको हुन्थ्यो। छेउछाउ र कुनाकानीमा दिसाको रास लागेका हुन्थे। आसपासको कोदोबारी कतैकतै माडिएको हुन्थ्यो। कसैका परालका कुन्यू छरिएको हुन्थ्यो। ‘फलानोको कोदो बारीमा ५ वटा लाबर (रबर) का थैला भेटिए अरे’ भनेको सुनिन्थ्यो। ठुला मानिसहरूले अँध्यारोमा लुकेर बेलुन फुलाउँदा रहेछन्। सायद केटाकेटीलाई दिनुपर्छ भनेर होला।

भाग्यवश एकचोटी त्यो बेलुन मैंले पनि देखेँ। अरू कसैले भेट्टाएको। त्यसलाई कसैले त्यहीँ छाड्लान् र सुटुक्क फुकौंला भनेर निकैबेर कुरिरहेँ तर त्यो मैंले देख्ने ठाउँमा छोडेनन्। त्यो बेलुन फुलाउने मौका जुरेन।

शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहभागितामा विद्यालयको वार्षिकोत्सव हुने गर्दथ्यो। समाजमा चेतना फैलाउन धेरै सफल सांस्कृतिक कार्यक्रम पञ्चायतको पतनपछि रोकियो। बहुदल आएपछि विभिन्न राजनीतिक दलले आ-आफ्ना किसिमका सांस्कृतिक कार्यक्रम गर्ने प्रयत्न गरेकाले रोकिएको भन्ने सुनियो। विद्यालय व्यवस्थापनले यसलाई किन निरन्तरता दिन सकेन त्यो गाउँलेहरूले बुझेनन्।

आज पुष ९ गते मेरो प्यारो स्कूलको जन्मदिन। बाँसको चित्राले बारेर सुरू भएको मेरो स्कूलमा धेरैले पढे, विभिन्न पेशा अंगाले। कसै कसैसँग भेट हुन्छ, धेरैसँग हुँदैन। को को कहाँ पुगे होला। आफू प्राथमिक शिक्षा पूरा गरेपछि स्कूल छाडेर हिँडियो। त्यो बेलाको प्राथमिक विद्यालय अहिले माध्यमिक विद्यालय भैसक्यो। वार्षिकोत्सवका कार्यक्रममा पनि परिवर्तन भए होला। धेरै वर्ष भयो वार्षिकोत्सवमा नपुगेको। वार्षिकोत्सवको दिन विद्यालयका विगत र वर्तमानका सबै गुरु, गुरुआमा र विद्यार्थीहरूलाई शुभकामना।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s