कहाँ राख्ने प्रान्तीय राजधानी?

राजनीतिक दलहरूले सातवटा राज्यका राजधानी कहाँ बनाउने भन्ने धारणा बनाइसकेका छैनन् । एउटा सहरलाई तोक्दा अर्को सहरमा अलोकप्रिय हुन सक्ने भयले दलहरूले यो विषयको निवारण गर्न चाहेनन् । तर, तिनै दलका उम्मेदवारहरू आफ्नो क्षेत्रको सहरलाई नै राजधानी बनाउन कटिबद्ध रहेको देखाउन थालेका छन् । यसले प्रान्तीय राजधानी हुने रहर पालेर बसेका राज्यैपिच्छेका सम्भाव्य सहरका बासिन्दाबीच ठूलो खिचातानी सुरु गरिदिएको छ ।

चुनावअगावै राज्यको अस्थायी राजधानी तोकिदिएको भए निर्वाचनलगत्तै प्रान्तीय सभामा निर्वाचित सभासद् कहाँ भेला हुने स्पष्ट हुने थियो । अहिले निर्वाचन दैलोमै आइपुगिसक्दा पनि निवाचित भएपछि बैठक बस्न कहाँ जाने भन्ने न त उम्मेदवारलाई थाहा छ, राजनीतिक दललाई नै । थाती राखिएका यी ३ विषयमा अहिलेसम्म पर्याप्त बौद्धिक बहस हुनुपर्ने थियो । देशका विद्वान्हरू, योजनाविद् सबैले यो विषयको गम्भीरतालाई ध्यान दिएनन् । फलतः अन्तिम घडीमा प्रादेशिक संसद् र संघीय संसद्को निर्वाचनको कार्यक्रम सुरु भएपछि यसमा बेढंगको होहल्ला भइरहेको छ । विचारहरू पनि एकपक्षीय ढंगबाट बाहिर आइरहेका छन् ।

निर्वाचन हुन्जेल सबैको ध्यान निर्वाचनमा नै जाला, तर भोलि निर्वाचनको परिणाम आउनेबित्तिकै प्रान्तीय संसद् कहाँ बस्ने भन्ने विषय जटिल बन्नेछ । प्रादेशिक राजधानी आफ्नो सहरलाई बनाउन सातवटै प्रदेशका मुख्य–मुख्य सहरहरूको तँछाडमछाड भइरहेको छ । राजनीतिक प्रभाव र पहुँच, आर्थिक प्रलोभनलगायत सबै किसिमका हथकन्डा प्रयोग गरी आफ्नो सहरलाई प्रान्तीय राजधानी बनाउने चलखेलमा भित्रभित्रै मुख्य सबै सहरहरू जुटिसकेका छन् ।

बन्दै नबन्ला भनेको संविधान बन्यो । विभिन्न आशंकाहरूका बीच स्थानीय निकायको निर्वाचन भयो । त्यत्रा ठूला–ठूला चुनौतीपूर्ण कार्यहरू सम्पन्न गरेका राजनीतिक दलहरूले चाहेमा यो विषय पनि सहजै टुङ्ग्याउन सक्छन् । निर्वाचन नै भइसकेपछि प्रान्तीय संसद् र सरकार चलाउन यो मुद्दा नटुंग्ययाई हुँदैन पनि ।

तर, के आधारमा राजधानी तोक्ने भन्नेबारे पर्याप्त बौद्धिक बहस नभई माथिबाट लाद्ने किसिमले निर्णय भयो भने सहज रूपमा स्वीकार्य नहुन सक्छ र त्यसको कार्यान्वयनमा ठूलो समस्या हुन सक्छ । प्रान्तीय राजधानी तोक्नका लागि प्रदेश सभाले नै निर्णय गर्ने व्यवस्था संविधानमा नै छ । तर, त्यसका आधार के हुन्छन् भन्ने कुरा उल्लेख छैन । सर्वस्वीकार्य हुने गरी निर्णय नभए सहर–सहरबीचको तनावले उग्र रूप लिन सक्छ ।

विकिपिडियाका अनुसार देश वा राज्यको संसद्, उच्चतम न्यायालय तथा सरकारका मुख्य कार्यालयहरू रहने सहरलाई राजधानी भनिन्छ जहाँबाट सरकारका काम–कारबाही सञ्चालन गरिन्छन् । प्राचीन कालमा व्यापारिक, सामरिक महत्वको सहर राजनीतिक फोकल केन्द्र्र बन्थ्यो र कालान्तरमा त्यो राजधानी बन्थ्यो । आधुनिक कालमा राज्यका सबैलाई पायक पर्ने पूर्वाधारयुक्त मुख्य व्यापारिक र बौद्धिक केन्द्रलाई राजधानी बनाउने प्रचलन रहेको छ । राजधानी सहर राजनीतिक, बौद्धिक, आर्थिकलगायत विभिन्न अवसरले युक्त हुने भएकाले अधिकांश मानिसको आकर्षणको केन्द्र हुन्छ । यसले विभिन्न क्षेत्रमा रोजगारीको अवसर पनि बढाउँछ ।

राज्यका सबै अवयवहरूको केन्द्र रहने हुँदा सबै क्षेत्रका प्रभावशाली व्यक्तिहरूको बसोवास बढ्छ । यसले सहरको भौतिक सुविधामा वृद्धि गर्नुका साथै घरजग्गाको मूल्य पनि बढ्ने भएकाले आफ्नो सहरलाई राजधानी बनाउन सहरवासी आकर्षित हुन्छन् । प्रान्तीय राजधानीका लागि कम्तीमा तीन विषय आवश्यक पर्छन् । पहिलो, राज्यका अधिकांश बासिन्दालाई पायक पर्छ कि पर्दैन ? दोस्रो, भौतिक पूर्वाधार छन् कि छैनन् ? तेस्रो, मानिसको चेतनाको स्तर कस्तो छ ? उनीहरू राजधानी मान्न तयार छन् कि छैनन् ?

भौतिक पूर्वाधारमा अस्पताल, शैक्षिक केन्द्रहरू जस्तै विश्वविद्यालय, स्कुल, कलेज, बाटोघाटो, हवाई मैदान, व्यापारिक केन्द्रको उपलब्धता भएको सहर हुनुपर्छ । त्यसैगरी आधुनिक सुविधायुक्त संसद्् भवन, मन्त्रालय, सरकारी कार्यालय, न्यायालय आदिका लागि फराकिला भवन बनाउन पर्याप्त खुला ठाउँ हुनुपर्छ । फराकिला सडक र गल्ली भएको, मानिस भेला हुन वा टहल्न खुला चोक, मैदान र पार्क भएको । शान्तिसुरक्षाका लागि सुरक्षा निकाय सेना, प्रहरी, सशस्त्र प्रहरी आदिको प्रान्तीय कार्यालय राख्न सकिने पर्याप्त ठाउँ भएको हुनुपर्छ ।

टेलिफोन विद्युत्, खानेपानी, ढल निकास आदिको पूर्वाधार भएको वा विस्तार गर्न सकिने ठाउँ भएको, सिर्जनात्मकता, खेलकुद आदिका लागि सभाहल, रंगशाला, कभर्डहल भएको वा निर्माण गर्न सकिने ठाउँ भएको, सरकारी भवन बनाउन मात्र होइन, आपद्विपद पर्दा ठूलो संख्यामा मानिसलाई सेल्टर आश्रय दिन सकिने खुला ठाउँ भएको पनि हुनुपर्छ । आफ्नो सहरमा यति कुरा छैन भने स्विकार्नैपर्छ तपाईंको सहर क्षेत्रीय राजधानी बन्न योग्य छैन । अहिले भवन, खाली जग्गा, पायक पर्ने ठाउँ, सांस्कृतिक पृष्ठभूमि, राजनीतिक पृष्ठभूमि आदि कुरा जेले आफूलाई माथि देखाउन सकिन्छ, त्यो देखाएर सहरहरू प्रतिस्पर्धामा उत्रेका छन् । साँच्चिकै भन्ने हो भने तिनीहरू कुस्ताकुस्तीमै छन् ।ठूलो सहरमा धेरै किसिमका मानिस बस्छन् । तिनीहरूमा धार्मिक, राजनीतिक, सांस्कृतिक, भाषिक विविधता हुन्छ । अर्काको चाडपर्व, रीतिथिति, धर्म, संस्कार संस्कृति, क्रियाकलापप्रति हामी सहिष्णु छौँ ? कि एउटा निश्चित जातिबाहेक अर्कोलाई टिक्न नदिने सोचमा नै छौँ ?

बाहिरबाट आएर एक–दुई दिन बिताउने मानिसलाई उसको आर्थिक स्तरअनुसार सहज रूपमा जीवनयापन गर्न वास, खाना आदिको पर्याप्त बन्दोबस्त गर्न सकिन्छ ? होटेल–लज छ ? रात्रिजीवन छ ? सरसफाइ र सार्वजनिक शौचालय छन् ? यसैगरी, सभ्य र सुसंस्कृत सहरका बासिन्दाले आफ्नो गतिविधिले अरूलाई सताउनुहुँदैन । हामी रातभर माइक बजाएर वा देउसी–भैलो खेलेर अर्काको निन्द्रा खलबल पार्छौं, गल्लीगल्लीमा झ्यालबाट फोहोर फ्याँकेर बटुवालाई दुःख दिन्छौँ । ट्याँट्याँ हर्न बजाउँछौँ भने कसरी सभ्य कहलाउँछौँ ? जथाभावी फोहोर, प्लास्टिक डढाएर धुवाँ फैलाउँछौँ, शौचालयको मैला झिकेर बारीमा फिँजाई दुर्गन्ध फिजाउँछौँ भने हाम्रो सहर कसरी सुसंस्कृत हुन्छ?

राजधानी सहर काठमाडौंलगायत देशका सबैजसो ठूला सहरमा व्यवस्थित बसोवास छैन । वर्षामा भलबाढी आउँदा अधिकांश ठाउँ जलमग्न हुन्छन् । ढल र निकास व्यवस्थित छैन । सहर वैज्ञानिक रूपले योजनाबद्ध ढंगले विकास भएका छैनन् । साँच्चै भन्ने हो भने जग्गा दलालहरूले प्लानिङ गरेका भरमा बनेका सहरहरू छन् । सहर भएपछि स्वाभाविक रूपमा घनाबस्ती हुन्छ । त्यहाँका बासिन्दालाई पर्याप्त हुने गरी सेवा र सुविधा उपलब्ध हुनुपर्छ ।

नयाँ पत्रिका दैनिक २०७४ मंसीर १०  http://www.enayapatrika.com/2017/11/26/1052/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Blog at WordPress.com.

Up ↑

%d bloggers like this: