टेलिकमका सेवामा आउने अवरोध : कारण र समाधान

आधुनिक युगको मानिस फोन होस् अथवा इन्टरनेट, सञ्चार सम्पर्क बिना एकछिन बस्न सक्दैन । अत्यावश्यक सेवा ऐन २०१४ ले टेलिकम, खानेपानी, बिजुली, स्वास्थ्य सेवा, यातायात, लगायतका सेवालाई अत्यावश्यक सेवाको श्रेणीमा राखेको छ । यी सेवा एकैछिन पनि अवरुद्ध नभै निरन्तर सुचारु गरिरहनुपर्ने सेवा हुन् । यद्यपि तारयुक्त तथा ताररहित विभिन्न उच्च प्राविधिक यन्त्र तथा पूर्वाधारहरूको माध्यमबाट चल्ने यी सेवाहरू काबू बाहिरको परिस्थितिका कारण कहिलेकाहीँ अवरुद्ध हुने गर्दछन् ।

विभिन्न कारणले कहिलेकाँही सेवा अवरुद्ध हुँदा धेरै ग्राहकहरुले सेवा प्रयोग गर्न नपाई मर्कामा पर्दछन् । कतिको व्यापार व्यावसायमा असर पर्दछ, कतिपयले जरुरी ठाउँमा सम्पर्क गर्न पाउँदैनन् र महत्वपृर्ण काम बिग्रनसक्छ । ग्राहकलाई अविच्छिन्न रूपले सेवा प्रदान गर्नु कम्पनीको कर्तव्य पनि हो त्यसैले यस्ता अवरोधहरू तुरुन्तै हटाउन सेवा प्रदायकले बनाएका संयन्त्रहरू आपतकालिन रूपमा परिचालित गरी सकेसम्म चाँडो सिस्टम सुचारु -System Restore_ गरिन्छ ।

यद्यपि यस्तै विषयलाई केही सञ्चार माध्यमले अतिरञ्जित ढंगले प्रस्तुत गर्दा कम्पनी प्रति आम सर्वसाधारणको नकारात्मक धारणा बन्न जान्छ । त्यस्ता विषयहरूमा कम्पनीको तर्फबाट यथोचित सूचना प्रवाह गर्न ढीला हुँदा वा सूचना नै प्रवाह नहुँदा ग्राहकहरूले तथ्य थाहा नै पाउँदैनन् ।

यस लेखमा कम्पनीका सेवाहरू अवरुद्ध हुने कारणहरू र त्यसका समाधानका उपायहरू बारेमा केही चर्चा गरिएको छ ।

xxxxxxxx

नेपाल टेलिकमले दूरसञ्चार क्षेत्रका परम्परागत तथा अत्याधुनिक किसिमका सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ । जसमा आधारभूत टेलिफोन अथवा ल्याण्डलाईन, वायरलेस मोवाइल फोन, वायरलेस इन्टरनेट तथा तिनै माध्यमबाट प्रदान गरिने इन्टरनेट तथा डाटा सर्भिस मुख्य हुन् । यी सेवाहरू कम्पनीले विकसित शहर बजारमा मात्र होइन दुर्गम ग्रामीण भेकमा र बिकट हिमाली र पहाडी गाउँहरूमा समेत उपलब्ध गराउने गर्दछ । नेपाल सरकारको ९० प्रतिशत भन्दा बढी लगानी रहेको यो कम्पनी व्यावसायिक टेलिकम सर्भिस प्रोभाइडर हो यद्यपि विकट र दुर्गम भेकमा दुरसञ्चार सेवा पुर्याउने दायित्व समेत कम्पनीमा छ । त्यसैले कम्पनीले गाऊँ(शहर, सुगम(दुर्गम भन्ने कुनै विभेद नराखी सेवा प्रदान गर्ने गर्दछ ।

नेपाल टेलिकमको मुख्य प्राथमिकता सेवा हो त्यसपछिको प्राथमिकता नाफा हासिल गरी सेवामा गुणस्तर बृद्धि गर्नु हो । विभेद रहित सेवा प्रदान गर्ने भएको हुँदा ग्राहकको बढी विश्वास पनि यसै कम्पनीले प्राप्त गर्नु स्वभाविक छ । जसलाई धेरै विश्वास गरिन्छ त्यसको चासो बढी हुनु पनि त्यत्तिकै स्वभाविक हुन्छ । ग्राहकको ठूलो विश्वास हासिल भएको कम्पनी भएपनि यसका सेवाहरु पनि कहिलेकाहीँ अवरुद्ध हुने गर्दछन् । दूरसञ्चार सेवा अत्यावश्यक सेवा हो । कुनै पनि कारणले यो अवरुद्ध गर्नु हुँदैन । तथापि काबु बाहिरको परिस्थिति आउँदा कहिलेकाहीँ सेवाहरू अवरुद्ध हुने गर्छन् । अवरुद्ध सेवालाई सकेसम्म चाँडो सुचारु गर्नु कम्पनीको दायित्व हो ।

अवरुद्ध सेवाहरू तत्काल मर्मत गरी सेवा सञ्चालन गर्नका लागि कम्पनीको आफ्नै संयन्त्र छ जुन सामान्यतया तत्काल परिचालित हुन्छ । कतिपय अवस्थामा तत्काल मर्मत गरी सेवा सुचारु हुन्छ भने कतिपय ठाउँमा तत्काल बन्न नसक्ने गरी गम्भीर क्षति भएको हुनसक्छ त्यसकारण पनि सेवा सुचारु हुन केही समय लागेको हुनसक्छ । यति हुँदा हुँदै कतिपय ठाउँमा भने विभिन्न निकायहरू बीच समन्वय हुन नसक्दा केहीबेर सम्म सेवा अवरुद्ध हुने र मर्मत गर्न पनि लामो समय लाग्ने हुनसक्छ । यसले एकातिर सर्वसाधारणले सास्ती खेप्नुपर्छ, अर्को्तिर कम्पनीको सेवाप्रति सर्वसाधारणको विश्वास पनि घट्दै जान्छ ।

खासगरी सडक विस्तार हुँदा, ठूलो प्राकृतिक बिपत्ति आइपर्दा आदि अवस्थामा कम्पनी भित्रबाट मात्र सबै काम सम्पन्न गर्न सकिन्न । सडक विभाग, ढल विभाग, खानेपानी जस्ता निकायहरूसँग समन्वय गरेर मात्र बन्ने अवस्थामा कम्पनीको मात्र नियन्त्रण नहुने भएकोले मर्मत कार्यमा समय लाग्न सक्छ ।

सेवा अवरुद्ध हुनै नदिने, अवरुद्ध भैहालेमा तत्काल सुचारु गराउने र तत्काल सुचारु हुन नसक्ने अवस्थामा ग्राहकलाई वैकल्पिक सेवा उपलब्ध गराउने व्यवस्था गर्नु सेवा प्रदायकको दायित्व हो ।

 

टेलिकम सेवा अवरूद्ध हुनाका कारणहरू

विश्वका जुनसुकै टेलिकम सेवा सञ्चालनमा अवरोध आउने मुख्य रूपमा ३ कारणहरू रहेका छन् ।

१ नेटवर्कमा अवरोध

२ उपकरणमा हुने त्रुटी (Hardware/ Software समेत)

३ विद्यूत आपूर्तिमा अवरोध

माथिका ३ कारण मध्ये पनि अधिकांश समस्या नेटवर्कमा हुने अवरोधका कारण हुने गर्दछ । नेटवर्कमा अवरोध हुने बित्तिकै एक ठाउँ बाट अर्को ठाउँबीचको सम्पर्क टुट्न पुग्दछ । यसले ग्राहकलाई उपलब्ध गराइने सेवाहरू र ती सेवा सञ्चालन गर्ने सिस्टमहरू पनि अवरुद्ध बनाउँछ ।

नेटवर्कमा देखिने समस्या मोटामोटी रूपमा निम्नानुसार देखिएको छ ।

१ तार चोरी

२ अप्टिकल केबुल काटिने

३ माइक्रो वेभ ट्रान्सरिसिभर तथा रिपिटर स्टेशनमा आउने खराबी

 

तार चोरी

तार चोरी आधारभूत टेलिफोन सेवाको ठूलो चुनौतीको रूपमा देखिएको छ । राजधानी काठमाडौं, तराईका सहरहरू र केही पहाडी सहरहरूमा समेत टेलिफोन तार चोरी हुने गरेको पाइन्छ । यसले स्थानीय टेलिफोन तथा त्यस बाट प्रदान गरिने एडिएसएल लगायतका सेवाहरू अवरुद्ध हुने गर्दछ । तार चोरी के उद्देश्यले गरिन्छ र चोरेको तार कहाँ लगिन्छ भन्ने बारेमा यकिन भन्न नसिकए पनि यदाकदा चोरीको सामान कवाडीमा बिक्री गर्ने गरेको फेला परेको छ । कतिपय ठाउँमा तार काटेर मात्र छोडेको पाइनुले अदृष्य पक्षले टेलिकमको क्षति गर्ने उद्देश्यले तार काटेको अनुमान गर्न सकिन्छ । तार चोर्नेले अलिकति रकमको लोभमा तार चोरिदिँदा कम्पनीलाई लाखौंको क्षति पुग्दछ, त्यसैका कारण सर्वसाधारणले पनि सास्ती खेप्नुपर्ने हुन्छ ।

अत्याधिक तार चोरी हुने ठाउँमा स्थानीय समुदाय, प्रहरी तथा कर्मचारीको संयुक्त निगरानी बाट केबुल चोरीको घटनामा कमी आएको र कतिपय ठाउँमा नियन्त्रण नै भएको पनि पाइएको छ । स्थानीय निकायमा जनप्रतिनिधि समेत निर्वा्चित भएर आइसकेपछि यस किसिमका सामाजिक अपराध नियन्त्रण प्रभावकारी संयन्त्र बनाउन सकिन्छ । यसमा धेरै चासो हुनुपर्नेमा त्यतातिर ध्यान गएको पाइएको छैन, स्थानीय सरकारसँग कम्पनीले सम्वाद गरेर वस्तुस्थिति बारे अवगत गराउन ढीला भैसकेको छ । जुनसुकै उद्देश्यले काटिएको भएतापनि तार काटिँदा विना कारण उपभोक्ताहरू सेवाबाट बञ्चित हुन्छन् । क्षति जनताकै हुन्छ । त्यसैले यो सामाजिक अपराध हो । सार्वजनिक सम्पत्ति क्षति गर्ने विरुद्ध आम सर्वसाधारणमा चेतना जगाउन तथा सुरक्षा निकायले पनि विशेष चासो देखाउन जरूरी हुन्छ । घटनाको गहिरो अनुसन्धान गरी अपराधीलाई पक्राऊ गरी कडा कारवाही गर्ने हो भने यस्ता घटना निरुत्साहित हुँदै समाप्त हुनेछन् ।

 

उपकरणमा आउने त्रुटी

जडीत उपकरणको हार्डवेयर वा सफ्टवेयरमा त्रुटी आउँदा पनि कहिलेकाहीँ सेवा अवरुद्ध हुने गर्दछ । सामान्यतया कार्यवोझ (workload) को आधारमा कुन उपकरणले कति काम गर्न सक्छ भन्ने आधारमा त्यसमा काम गराइन्छ । कहिलेकाहीँ त्यस्तो लोड बढी हुन जाँदा सर्भर आदि उपकरणमा समस्या देखिनसक्छ । यस्तो अवस्थामा छोटो समयका लागि सेवा अवरुद्ध हुन सक्छ । त्यस्तै सफ्टवेयर सम्बन्धी खराबीका कारण पनि समस्या हुनसक्छ । यस्ता समस्याहरू सामान्यतया तत्काल समाधान हुने गर्दछन् । यस्तो अवस्था आउन नदिन उपकरणहरूमा लोड ब्यालेन्सरको प्रयोग गर्ने, धेरै वटा उपकरणमा बाँडेर काम गराउने तथा उपकरणहरूको नियमित जाँच गर्ने आदि कार्यहरू गरिन्छ । यस किसिमका त्रुटी आउन नदिन उच्च गुणस्तरका उपकरण प्रयोग गर्नु र विशेषज्ञ प्राविधिकबाट नियमित निगरानी राख्नु पर्दछ ।

अप्टिकल केबुल काटिनु

नेपाल टेलिकमका भ्वाइस तथा डाटा सेवाहरू सबैभन्दा बढी स्थानमा अप्टिकल नेटवर्कका माध्यमबाट पुर्याइएको छ । अप्टिकल बाट जोडिएका ठाउँमा व्याक अपको रूपमा माइक्रोवेभ लिङ्क पनि प्रयोग भैरहेको छ । उच्च हिमाली र पहाडी क्षेत्रका अधिकांश स्थानमा भने माइक्रो वेभ लिङ्क, भू उपग्रह आदि माध्यमबाट पनि चल्दछन्

पछिल्लो समयमा सबैभन्दा बढी अवरोध अप्टिकल काटिएका कारण हुने गरेको देखिएको छ । मुख्य राजमार्गको किनारमा जमीन मुनी बिछ्याइएका अप्टिकल केबुल हरू बराबर काटिएको समाचार सुनिन्छ ।

Optical Backbone मा अवरोध हुँदा कम्पनीको पूर्वाधारमा क्षति त हुन्छ नै अवरुद्ध समयमा लाखौं रकम राजश्व पनि घाटा हुन्छ । नेपाल सरकार र सर्वसाधारणको समेत शेयर रहेको कम्पनीलाई घाटा हुनु भनेको सरकारको र समग्र रूपमा जनताको घाटा हो ।

सर्वसाधारण सञ्चार सम्पर्कबाटै बाहिर रहनुपर्नाले निजी क्षेत्रलाई पनि ठूलो घाटा हुन्छ । इन्टरनेटको माध्यमबाट हुने व्यापार व्यावसाय पनि ठप्प हुन्छ । देश विदेशमा रहेका परिवार र आफन्तसँग सञ्चार हुन सक्दैन ।

अधिकांश अप्टिकल काटिने समय आमाको मुख हेर्ने, बाबुको मुख हेर्ने, तीज, दशै, तिहार लगायत अन्य मुख्य चाडपर्वमा पर्ने गरेको देखिन्छ । यस्तै बेलामा सेवामा अवरोध आउँदा शंका गर्ने ठाउँ बढ्दछ । यसले गर्दा अति आवश्यक परेका बेला ग्राहकले सेवा नपाउने, र अर्को्तिर मुख्य व्यापार हुने बेला सेवा नै नचल्दा कम्पनीले पनि ठूलो राजश्व रकम गुमाउनु परेको छ । अप्टिकल नेटवर्क प्राकृतिक प्रकोपले भन्दा धेरै गुणा बढी मानवीय कारणले काटिने गरेको छ । कतै सडक, खानेपानी, ढल आदि विस्तारका क्रममा खन्दा काटिन्छन् भने कतैकतै कम्पनीको सेवामा अवरोध पुर्याउने ढंगले जानाजान काटिएको पनि पाइन्छ ।

अप्टिकल नेटवर्क काटिँदा ग्राहकको सेवा मात्र काटिँदैन कम्पनीका कार्यालयमा चल्ने केन्द्रीकृत सिस्टमहरू पनि अवरुद्ध हुन्छन् । यसबाट नयाँ सेवा लिने, विद्यमान सेवामा सेवा थपघट गर्ने, बील तिर्ने आदि कार्यहरू पनि अवरुद्ध हुन्छन् ।

सडक, ढल, खानेपानी, विद्युत आदि निकायले विभिन्न कामका लागि जमीन खन्दा पनि अप्टिकल केबुल काटिने गर्दछ । निजी क्षेत्र होस् वा सरकारीरअर्ध सरकारी जुनसुकै निकायहरूले पनि अप्टिकल बिछ्याइएको क्षेत्रमा काम गर्दा विशेष सावधानी अपनाउनुपर्छ । सबैभन्दा पहिले टेलिकमलाई जानकारी दिनुपर्छ, त्यसपछि अप्टिकल बिछ्याइएको ठाउँ कहाँ कहाँ छ भनेर कम्पनीका स्थानिय कार्यालयले जानकारी दिनुका साथै त्यस्ता कार्यको प्रत्यक्ष अनुगमन पनि गर्नु पर्छ । व्यक्ति सरह सरकारी निकायले टेलिफोन केबुल नेटवर्कको संरक्षण गर्नु दायित्व हो ।

सरकारी निकायले विना सूचना खन्नु र त्यसबाट नेटवर्क अवरूद्ध हुनुलाई शंकापूर्ण दृष्टिले हेर्ने पर्याप्त आधार हरू छन् । बिना जानकारी खनेर क्षति भएमा जानाजान क्षति गरेको सरह कारवाही गर्नुपर्छ । यसमा सरकारी, अर्ध सरकारी वा निजी कुनै पनि संस्थाले उन्मूक्ति पाउनु हुँदैन । जानाजान देशको सम्पत्तिमा क्षति पुर्याउनु अपराध हो, त्यस्तो अपराध नियन्त्रण गर्न सुरक्षा निकाय लगायत स्थानीय र केन्द्र सरकारको दायित्व हो । अपराधीलाई पक्राऊ गरी हदैसम्मको सजाय गर्ने हो भने त्यस्ता कृयाकलाप बन्द हुन्छन् ।

अप्टिकल नेटवर्क टेलिकम सेवाको पूर्वाधार हो । पूर्वाधार साझीकरण अर्थात् Infrastructure Sharing नेटवर्कमा आउने प्रायोजित समस्याको एउटा दीर्घकालिन समाधान हुनसक्छ । देशमा पूर्वाधार कम्पनी विद्यमान नभएको, पूर्वाधार साझा रूपमा चलाउने अभ्यास नरहेको अवस्था रहुन्जेल यो समाधान त्यति व्यवहारिक देखिन सकिरहेको छैन । पूर्वाधार साझीकरणको अभ्यास भएका देशहरूमा सेवा प्रदायकको पूर्वाधारमा गर्नूपर्ने लगानी भारी मात्रामा कमी आएको तथा यस किसिमका समस्या भोग्नु नपरेको पाइएको छ ।

सबै सेवा प्रदायक कम्पनीहरूले सबै च्यानल प्रयोग गर्ने व्यवस्था मिलाउने हो भने एकातिर विकल्प सहितको सेवा उपयोग गर्न सकिन्छ अर्को्तिर ग्राहकले पनि अवरोध मुक्त सेवा प्रयोग गर्न पाउछन् । सरकारले पूर्वाधार विकास कम्पनी स्थापन गरी कडा नियमनका साथ कार्य गराउने हो भने यो अवस्था आउन धेरै समय पर्खिनु पर्दैन ।

नयाँ पूर्वाधार बनाउँदा

भएको नेटवर्कमा हुने क्षति कसरी न्युनिकरण गर्ने भन्नेमा मात्र अहिलेसम्म हाम्रो ध्याउन्न केन्द्रीत भैरहेको छ । नयाँ नेटवर्कको खाका कोर्न धेरै ध्यान गएको छैन । देशभरमा विभिन्न ठाउँमा नयाँ बाटो निर्माण भैरहेका छन् र कतिपय सडक विस्तारको कार्य पनि चलिरहेको छ ।

अहिले कोशी राजमार्गको विराटनगर धरान खण्डमा सडक विस्तारको कार्य भैरहेको छ । ६ लेनको सडक निर्माणका लागि विराटनगर देखि इटहरी समम्का सडक क्षेत्रमा पर्ने घर टहरा हटाई ढल निर्माण भैरहेको छ । इटहरी-धरान सडक खण्डमा पर्ने पर्ने चारकोशे झाडीको घना जंगल खण्डमा पर्ने रुख आदि हटाउने कार्य तत्काल हुँदैछ । कोशी राजमार्ग विस्तार आयोजनाबाट यस बारेमा जानकारी पठाई सहयोग माग गरेको छ जुन प्रसंसनीय कार्य हो ।

जस्तै विराटनगर धरान राजमार्ग खण्ड विस्तार हुँदा टेलिकमको नेटवर्क कहाँ राख्ने? अहिले सम्मको अभ्यास सडक दायाँ बायाँ किनारमा अप्टिकल नेटवर्कको डक्ट राख्ने अभ्यास छ । तर अर्को चोटी सडक विस्तार हुँदा वा नयाँ केही निर्माण हुँदा त्यस्तो नेटवर्क फेरि पनि काटिने वा अवरूद्ध हुने सम्भावना कायमै रहन्छ । यदि सडकको बीचको डिभाईडर बाट ठूलो डक्ट राखेर विद्यूत, टेलिफोन आदिको नेटवर्क बनाएमा मर्मत कार्य छिटो छरितो हुन्छ । डिभाइडर बाट सकिन्छ मानिस हिँठड्न मिल्ने ठूलो नसकिएमा ठाउँ ठाउँमा ट्रेन्च होल राखेर अलि ठूलो डक्ट पाइप राखेर नेटवर्क बनाउनु पर्छ ।

सडक योजनाले रोडशेष देखि आयल निगम सम्म बाटो बनाइसकेको छ, टेलिकम व्यवस्थापनले डिभाइडरमा डक्ट राख्ने हो भने अहिलेसम्ममा काम थालिसक्नु पर्ने थियो । अझै समय छ, कम्पनीले यथोचित निर्णय गरिहाल्नुपर्छ । निश्चित ठाउँका लागि मात्र होइन सबै विस्तार हुने सडकमा बेलैमा सावधानी अपनाउनु पर्छ।

के हुँदा कसले जिम्मेवारी लिने र कसले कसलाई खबर गर्ने भन्ने स्पष्ट व्यवस्था हुनुपर्छ । त्यसपछि दूरसञ्चार कार्यालय, क्षेत्रीय निर्देशनालय, केन्द्रीय निर्देशनालय ले तोकिए बमोजिम आपतकालिन, अल्पकालिन र दीर्घकालिन मर्मत सम्भारको व्यवस्था मिलाउनु पर्दछ ।

 

प्राकृतिक बिपत्तिका कारण पनि सेवा अवरुद्ध हुने गर्दछ।

बाढी पहिरो

गत वर्षा बाढीको कारण पूर्वी तराईमा धेरै ठूलो जनधनको क्षति भयो । यसको प्रत्यक्ष मार टेलिकमले पनि खेप्नु पर्यो । १ नं प्रदेशका इटहरी, विराटनगर, राजविराज, लाहान लगायत टेलिकमका ठूलठूला एक्सचेन्जहरू बाढीले डुबायो । करोडौं रूपैयाँमा खरिद भएका उपकरणहरूमा क्षति भयो । विद्यूत आपूर्ति पनि अवरूद्ध भएको र जेनेरेटर हरूमा पनि पानी पसेर क्षति भएका कारण अन्य उपकरणहरू मर्मत भैसक्दा पनि सबै सिस्टम सुचारु हुन धेरै समय लाग्यो । २ दिन सम्म त सेवा अवरुद्ध नै भयो ।

पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, एकीकृत मर्मतसम्भार इकाई, दूरसञ्चार कार्यालयहरू लगायत कम्पनीका यस क्षेत्रका सबै अवयवहरू परिचालन गरी बल्लतल्ल २ दिन पछि सिस्टम सुचारु भयो । मोवाइल सेवा भने भोलिपल्टै देखि सुचारु भयो ।

तुलनात्मक रूपमा कार्यालय भवन शहरको अन्य भाग भन्दा उच्च स्थानमा रहेको र आसपासमा ठूला नदीनाला पनि नभएको इटहरी कार्यालयमा बाढी पस्नु आकस्मिक र आश्चर्य जनक घटना थियो । इटहरीको बाढी अध्ययन गर्दा उत्तर तर्फ नेपाली सेनाको पूर्वी पृतना मुख्यालय रहेको ठाउँमा बुढीखोलाको बाढी पसेर भरिएको पानी अकस्मात निस्कँदा बाढीको रूपमा आएको देखिन्छ ।

दैवी प्रकोप कसैले रोक्न सक्दैन यद्यपि बेलैमा सचेत हुने हो भने क्षतिलाई न्युनिकरण गर्न भने सकिन्छ । गतवर्षको बाढीको विश्लेषण गर्दा तराईका कार्यालयहरूमा पावर, यूपिएस, स्वीचिङ लगायतका मुख्य उपकरणहरू डुबान हुनसक्ने होचो भागमा नराख्ने गरी कार्यालयहरू डिजाइन गर्न जरुरी देखिएको छ ।

 

भूकम्प

भूकम्पले ल्याउने क्षतिको बारेमा हामी सबैजना अनभिज्ञ छैनौ । यसको प्रकोप बाट बच्न पूर्वतयारीले पनि केही हदसम्म मद्दत गर्दछ । घटना पश्चात् क्षतिको शीघ्र अध्ययन गरी त्यसको सम्वोधन गर्ने कार्य भने चुनौतीपूर्ण हुन्छ । २०७२ बैशाखको भूकम्पका विपत्तिका बखत टेलिकमले ग्राहकलाई अविच्छिन्न सेवा उपलब्ध गराउन सकेकोमा ग्राहकमा यसको छुट्टै छाप रहन गएको छ ।

पावर कट

लामो समय विद्यूत आपूर्ति बन्द हुँदा पनि टेलिकमका सेवाहरू अवरुद्ध हुने गरेका छन् । हुनत एक्चेन्जमा रहेको पावर ब्याकअप ले १० देखि २४ घन्टा सम्म टेलिफोनहरु चलिरहन्छन् । त्यस्तैगरी मोवाइलका बिटीएस (टावर)मा पनि पावर व्याक अप, सोलार सिस्टम आदि जडान गरिएको हुन्छ ।

मुख्य टेलिफोन एक्चेन्जमा ब्याक अप जेनेरेटरको पनि व्यवस्था गरिएको हुन्छ । कुनै कारणले विद्यूत आपूर्ति बन्द हुँदा त्यो ब्याक अप सिस्टमले सेवा चल्छ । तर बाढी पहिरो जस्ता ठूला बिपत्ति आएमा व्याक अपका लागि राखिएका उपकरण नै बिग्रेर सेवा चलाउन कठीनाई हुन्छ । यस्तो समस्या समाधान गर्नका लागि पावर व्यवस्थापनको चुस्त टोलिलाई तैनाथ अवस्थामा राखिनु पर्दछ । साथै त्यस्तो टोलीको काम र प्रभावकारिता पनि बेला बेलामा अनुगमन गरिरहनु पर्दछ ।

 

जुनसुकै कारणले अवरोध भएको होस् सेवा अवरुद्ध हुँदा ग्राहकलाई मर्का परेको हुन्छ । त्यसैले सर्वप्रथम त ग्राहकको गुनासो ध्यानपुर्वक सुनिदिने गर्नुपर्दछ ।

सेवा अवरूद्ध भएका बखत ग्राहकको सुविधाका लागि कार्यालयले तत्कालिन राहतका लागि केही व्यवस्था गरिदिन सक्छ । जस्तो ल्याण्डलाईन टेलिफोन अलि लामै समय अवरुद्ध हुने भएमा ग्राहकले चाहेको नम्बरमा कल ट्रान्सफर गरिदिने । सेवा अवरुद्ध भएका बेला ग्राहकलाई बैकल्पिक सेवा उपलब्ध गराउन प्रयत्न गर्ने जस्तो कि एडीएसएल सेवा अवरूद्ध भएका बेला मोवाइल डाटा उपलब्ध गराउने, भ्वाइस सेवाको पनि बैकल्पिक व्यवस्था मिलाउने इत्यादि ।

सबै कर्मचारीले जुनसुकै सेवामा पनि अवरोध भएमा कार्यालय प्रमुखलाई तुरुन्त जानकारी गराउने र कार्यालय प्रमुखले सेवा सुचारु गर्नका लागि सम्बन्धित निकायलाई खबर गर्ने गर्नुपर्छ । यस्तो सूचना आउनासाथ दूरसञ्चार कार्यालय, क्षेत्रीय निर्देशनालय, केन्द्रीय निर्देशनालय, नेटवर्क अपरेशन केन्द्र ल्इऋ लगायतका सबै अवयवहरू समय खेर नफालिकन परिचालित हुन जरुरी छ ।

 

नेटवर्क अवरुद्ध हुँदा सेवा मात्र अवरुद्ध हुने होइन कम्पनीका काम कारवाही नै ठप्प हुन्छन् । सबै सिस्टम अवरुद्ध हुन्छन् । यस्तो अवस्थामा केन्द्रबाट नेटवर्क अपरेशन सेन्टरले समन्वयको काम गर्नुपर्छ ।

कल सेन्टरको स्थापना

कुनै कम्पनीका सेवाको जानकारी कम्पनीको कल सेन्टरबाट उपलब्ध गराइन्छ । कल सेन्टर बाट ग्राहकलाई पनि आवश्यक जानकारी उपलब्ध हुन्छ भने कम्पनीका कर्मचारीलाई पनि आवश्यक परेको जानकारी सपोर्ट आदि उपलब्ध गराइन्छ ।

नेपाली जनताको चेतनास्तर विस्तारै माथि उठिरहेको छ । यद्यपि कतिपय सर्वसाधारणलाई कुन सेवा कसरी चलाउने, कुन सेवामा के के सुविधा उपलब्ध छन्, ती सेवा कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी कल सेन्टरबाट सर्वसाधारणमा दिन सकिन्छ ।

सर्वसाधारण देखि कर्मचारीले पनि सेवा अवरुद्ध भएका बखत पनि त्यसै गरी कल सेन्टर मार्फत सूचना प्रवाहित गर्न सकिन्छ ।

नेपाल टेलिकमले कल सेन्टर नै नभने पनि विभिन्न सेवाका लागि कल सेन्टरको व्यवस्था गरेको छ । १९१, १९७, १९८, १४९८ आदि कल सेन्टरहरूले टेलिफोन कल मार्फत छुट्टा छुट्टै सेवा प्रदान गरिरहेका छन् । ती सबै सेवाहरूलाई एकीकृत गरेर केन्द्रीय रूपमा कल सेन्टरको स्थापना गरी त्यसलाई प्रभावशाली ढंगले सञ्चालन गर्न अपरिहार्य भैसकेको छ ।

 

आधुनिक टेलिफोनी सेवाको मुख्य आधार जसलाई हामी ब्याकबोन भन्दछौ अप्टिकल लिङ्क नै हो । कुनै दुई ठाउँ बीचको एउटा लिङ्क क्यै कारणले काटिएमा पनि सेवा निरन्तर चलिरहोस् भन्ने उद्देश्यले कम्तीमा २ वटा रूट बाट अप्टिकल केबुल जोडिएको हुन्छ । जसलाई हामी रिङ नेटवर्क, ब्याक अप लिङ्क वा रिडन्डेन्सी लिङ्क भन्दछौं ।

देशका अधिकांश ठूला शहरहरूमा यस किसिमको वैकल्पिक लिङ्क जडान भैसकेको छ । तर विपत्ति आइपर्दा कतिपय ठाउँमा त्यस्ता रिडन्डेन्सी लिङ्कले काम नगरेको पनि पाइएको छ । वैकल्पिक लिङ्क जडान भैसकेपछि यो सञ्चालन योग्य छ कि छैन भनेर बेला बेला यसको परिक्षण गर्ने कार्य नभएको देखिन्छ । करोडौं रूपैयाँ खर्च गरेर जडान गरिएका नेटवर्कले परेका बेला काम नगर्नु गम्भीर विषय हो । यस विषयको कम्पनीले गम्भीर अनुसन्धान र छानविनको गरिरहेकै होला । विगतका त्रुटी बाट पाठ सिकेर अव त्यस्तो त्रुटी नदोर्होयाउने तर्फ कम्पनीको व्यवस्थापन र प्राविधिकहरू सजग रहनुपर्छ ।

भविष्यमा बन्ने नेटवर्कमा पनि अर्थपूर्ण वैकल्पिक लिङ्कको व्यवस्था मिलाउन र त्यसको सम्भार गर्न जरुरी छ ।

उपसंहार

टेलिकम सेवा प्राविधिक विषय भएको हुँदा यसमा समस्या वा अवरोध आउन सक्छ । जुनसुकै कारणले हुने अवरोधहरू पनि आइपर्न नदिन सचेत हुने तथा आइपरेमा यथाशीघ्र समाधान गर्न कम्पनीले चुस्त संयन्त्र निर्माण गर्नु पर्दछ । यसमा केन्द्रीय निर्देशनालय देखि क्षेत्रीय निर्देशनालय, एकीकृत मर्मत इकाई र एक्सचेन्ज कार्यालय सम्मको भूमिका स्पष्ट तोकिनुपर्छ । कर्मचारीलाई पनि आवश्यक तालिम दिएर सो संयन्त्रलाई सकृय बनाउनुपर्छ ।

सेवा अवरुद्ध गराउने घटनाको विवरण, समस्याको कारण, समाधानका लागि गरिएको कार्य र सेवा सुचारु हुने अनुमानित समय समेत उल्लेख गरी यथोचित माध्यमबाट ग्राहकलाई सूचित गर्नुपर्छ । तेस्रो पक्षले नकारात्मक हल्ला फिँजाउनुभन्दा अगाडी नै समुचित सूचना प्रवाह गरेमा कम्पनी प्रतिको विश्वास अटल रहनेछ । समाप्त ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

Create a free website or blog at WordPress.com.

Up ↑

%d bloggers like this: