निर्माणस्थलमा हुने दुर्घटनाका प्रकृति र बच्ने उपाय

भवन, पूल आदि निर्माण कार्य निकै जोखिमपूर्ण कार्य हो। यो कार्य कठीन त छँदैछ, जोखिमपूर्ण पनि छ। निर्माण स्थलमा हुने दुर्घटनाबाट विश्वभर बर्षेनी लाखौं मानिसहरूको ज्यान जाने गरेको छ।

विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने निर्माणस्थलमा हुने अधिकांश दुर्घटना अग्लो ठाउँबाट खसेर हुने गरेको सर्भेक्षणहरूले देखाएका छन्। तर काम गर्ने मानिसहरूमाथि सामान खस्ने अथवा सामानमा मानिस ठोक्किने आदि घटनाहरू धेरै हुने गर्दछन् र कामदारहरूलाई घाइते बनाउँछन्। यस मानेमा निर्माण स्थल खतरापूर्ण ठाँऊ हो भन्दा फरक पर्दैन।

उचाईबाट खसेर हुने दुर्घटनाले गम्भीर चोटपटक लाग्ने र धेरै मानिसको ज्यान जाने गरेको छ। थोरै उचाईबाट झर्दा पनि ठूलै क्षति पुग्ने गरेको छ।

अमेरिकाको लुबरो युनिभर्सिटीका विद्यार्थी र बोमेल इन्जिनियरिङका कन्सल्ट्यान्ट हरूले हालै गरेको एक सर्भेक्षण अनुसार सामान्यतया निर्माणस्थलमा आउँदाजाँदा र सामान ओसार्दा मानिस दुर्घटनामा पर्दछ।

एक हजार भन्दा बढी निर्माण दुर्घटनाको अध्ययन गरेको सो समुहले निर्माण पेशा खतरापूर्ण पेशा भएको ठहर गरेको छ। एक सय वटा दुर्घटनाको कारण अध्ययन गर्दा कामदारको एकदमै सानो गल्तीले ठूल्ठूला दुष्परिणाम भएको देखायो। उस्तैउस्तै लाग्ने फरक फरक गल्ती एउटै कामदारले गरेको समेत पाइयो।

दुर्घटनाको प्रकृति अध्ययनबाट धेरैवटा घटनामा निम्न प्रकारका विषयहरू दोहोरिएको पाइयो।

  • दुर्घटनामा पर्नेमा या त निर्माणस्थलमा सामान चलाइरहेका अथवा यताउता गरिरहेका मानिसहरू हुन्छन्।
  • कमजोर योजना र सुरक्षित उपायहरूको कम प्रयोगले बढी दुर्घटना हुन्छन
  • निर्देशन र सञ्चारको कमी एवं निर्माण धनीको कम सहभागिता जिम्मेवार
  • सुरक्षित उपाय अपनाउने तालिमको अभावमा कर्मचारीहरू धेरै दुर्घटनामा पर्ने
  • मांसपेशी र हाडजोर्नी सम्बन्धी चोटपटक बढी

लुबोर्ग अध्ययनले त भवनको डिजाइन नै परिवर्तन गरेर दुर्घटनामा कमी ल्याउन सकिने सुझाव दिएको थियो।

अध्ययनपछि अनुसन्धान टोलीका संयोजक ट्रेभर एलेनले निर्माण मजदूरहरु अरू कार्यका मजदूरभन्दा तीन गुणा बढी दुर्घटनाको खतरामा भएको औंल्याएका छन्।

यस्ताखालका अनुसन्धानले निर्माण ब्यवसायीहरूलाइ आफ्नो कमजोरी थाहा पाउन सहयोग गर्दछ। घटनाबाट निर्माण ठेक्का लिनेले पनि यस विषयमा आफ्नो ध्यान आकर्षित गरी जोखिम न्यूनिकरण गर्नेतर्फ बिचार पुर्‍याउनु आवश्यक हुन्छ ।

स-स्यानो घर निर्माणस्थल देखि लिएर ठूल्ठूला भवन/पूल आदि निर्माणस्थलमा दिनैपिच्छे दुर्घटना त भैरहन्छन्। १९९२ सम्म विश्वमा १०० मजदूर मध्ये ५.७ जना सानोठूलो दुर्घटनामा पर्ने गरेको तथ्याङ्क छ जुन आँकडा नयाँ प्रविधि र सुरक्षित उपाय अपनाएका कारण अहिले घटेको छ।

निर्माणस्थलमा निम्न प्रकारले दुर्घटना हुने गरेका छन्।

  • छानो खस्ने
  • मचान (स्क्याफोल्डिङ) दुर्घटना
  • लिस्नो खस्नु
  • ठूला उपकरणसित ठोक्किनु
  • लिफ्ट खस्नु
  • क्रेन दुर्घटना
  • खाडल भत्केर पुर्नु
  • विद्यूतीय करेन्ट
  • र वेल्डिङ सम्बन्धी

निर्माणस्थलका दुर्घटनामध्ये तीस प्रतिशत उचाइबाट खसेर हुने गर्दछ र यसरी खस्नाको कारण हुने गर्दछ चिप्लिनु। कुनै सम्म सतहमा चिप्लिएर र धेरैजसो अझेट्टिएर लड्ने गर्दछन्। अग्लो ठाँऊमा जाली नराखी निर्माण कार्य गर्दा कामदार खस्यो भने अधिकांश बाँच्दैनन्, यदि बाँचिहालेमा पनि नराम्रोसित अंगभंग हुन्छ।

यस्ता दुर्घटना न्यूनिकरण गर्न निम्न उपायहरू अपनाउन सकिन्छ।

१        तालिमः भनिन्छ रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेश, त्यसैले दुर्घटना नै हुन नदिनतर्फ सबै सचेत हुनुपर्छ। यसका लागि निर्माण कम्पनीले कामदारलाइ पूर्व सावधानी सम्बन्धी तालिम दिनुपर्छ। पुराना दुर्घटनाका प्रकृतिहरू हेरी त्यस्ता गल्तीहरू नदोहोर्‍याउने तर्फ सचेत हुनुपर्छ। नयाँ आउने कामदारहरूलाइ अझ बढी तालिमको आवश्यकता पर्दछ। उपलब्ध उपकरण र ज्यावलहरूको उचित प्रयोग सम्बन्धी पनि तालिम दिनु पर्दछ।

२        सुरक्षित उपाय अबलम्बनः निर्माण कार्य संचालन गर्दा सकेसम्म बढी सुरक्षित हुने उपाय अबलम्बन गर्नुपर्दछ। निर्माण कार्य सामुहिक कार्य भएकाले निर्माण मजदूरहरू एक आपसमा सहयोगी हुनुपर्छ। कोही दुर्घटनामा पर्न लागेको देखिएमा अर्को साथीले तुरून्तै खबर गरेमा ऊ बच्नसक्छ।

३        उपयुक्त उपकरणः निर्माण क्षेत्रमा उपयुक्त उपकरण प्रयोग गर्नु अति जरूरी हुन्छ। बाँस वा फलामको मचान बनाउँदा बलियोसित बनेको छ छैन पहिले नै पक्कापक्की गर्नुपर्छ। त्यसैगरी कमजोर काठ वा फलामको सहारामा धेरै छेऊमा जान हुँदैन, जानैपर्दा आफू अडिनसक्ने निश्चय गरेर मात्र जानुपर्दछ। त्यसैगरी धेरै अग्लो अथवा ठूलो निर्माण क्षेत्र भएमा त्यसबाट निर्माण मजदूर खस्दा बच्ने सम्भावना नै कम हुन्छ, त्यसैले उचाइमा काम गर्नुपर्ने ठाउँमा बलियो मचानका साथै बलियो जालीको पनि ब्यवस्था गर्नुपर्दछ। यसले खसिहालेमा पनि ठूलो दुर्घटना हुन दिँदैन र मजदूरलाई पनि निर्धक्कसित काम गर्ने वातावरण हुन्छ।

दुर्घटना भैहालेमा के गर्ने?

क)  जीवन रक्षाः सर्वप्रथम दुर्घटनामा परेको मानिसको जीवन रक्षाका उपाय अपनाउनु पर्दछ। भत्किएर पुरिएका अथवा सामानले थिचिएका मानिसहरूको यथासम्भव पहिले उद्धार गर्नु पर्दछ। उनीहरूलाई सकेसम्म कम असर पर्नेगरी त्यस्तो ठाउँबाट सुरक्षित ठाऊँमा निकाल्नु पर्दछ।

ख)  प्राथमिक उपचारः विरामीको अवस्था हेरी प्राथमिक उपचार गर्नु पर्दछ। चोटपटक सफा गर्ने, हाडजोर्नी भाँचिए-खुस्किएमा सकेसम्म सहज अवस्था (Position) मा राख्‍ने, कीला अथवा अन्य तीखो वस्तु गाडिएको पाइएमा सो झिक्ने गर्नुपर्छ। श्वासप्रश्वास रोकिएको अवस्थामा कृत्रिम श्वास प्रणालीबाट पनि श्वास दिन सकिन्छ। घाउचोटमा लगाउने औषधि/मल्हमऽ पट्टीऽ सफा गर्ने लगायतका प्राथमिक उपचारका सामानहरू जाकटी राख्‍नाले थप सजिलो हुन्छ।

ग)   औषधोपचारको ब्यवस्थाः घाइतेलाई नजिकको अस्पतालमा सकेसम्म चाँडो माध्यमबाट पुर्‍याउनु पर्दछ। आकस्मिक दुर्घटनाका घाइतेहरूलाई उपचार गर्न अस्पतालमा अलग्गै ट्रमा केन्द्रको ब्यवस्था गरिएको हुन्छ। बीर अस्पतालमा हालसालै यस्तो केन्द्रको ब्यवस्था गरिएको छ। तर देशका सबै‍ अस्पतालमा ट्रमा केन्द्र उपलब्ध छैन यद्यपि साधारण अस्पतालमा पनि यस्ता विमारीहरूको उपचार गरिन्छ। चोट जति पुरानो भयो त्यति उपचार हुन कठीन हुन्छ।

घ)   हराएकाहरूको खोजी र निकटका नातेदारलाई खबरः ठूल्ठूलो दुर्घटनामा मानिस हराउने, पुरिने आदि हुनसक्छ तिनीहरूको सावधानीपूर्वक खोजी गर्ने र घाइतेहरूका नजीकका नातेदारहरूलाइ खबर गर्नुपर्दछ।

ङ)   मृत्युसम्म भएमाः दुर्घटनामा परी मृत्यु भएमा प्रहरीको समेत सहयोग लिई मृतकको लासहरूको खोजी, सनाखत र नातेदारहरूलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउनुपर्दछ।

पेशागत सुरक्षामा गम्भीर ध्यान दिइन थालेपछि गएका बीस बर्षमा अन्य क्षेत्रका दुर्घटनामा ब्यापक कमी आएको छ। यद्यपि निर्माण क्षेत्रका दुर्घटनामा भने उल्लेखनीय रूपले कमी आउन सकेको छैन।

विकसित देशहरूमा निर्माण कार्यका लागि राम्रो रकम खर्च गरिन्छ तर हाम्रोजस्तो देशमा सकेसम्म कम लागतमा निर्माण कार्य सम्पन्न गर्ने सोचाइ रहेको हुन्छ तसर्थ निर्माण मजदूरको वेतन पनि कम नै हुन्छ। त्यसकारण निर्माण कार्यमा दुर्घटना भै अंगभंग भएमा ठूलो क्षति बेहोर्नुपर्ने हुनसक्छ। त्यस मजदूरले भविश्यमा पनि राम्रोसित काम गर्न सक्दैन।

हाम्रो जस्तो परिवेशमा दुर्घटना न्यूनिकरण गर्न काम गर्दा हरपल सतर्क रहनु नै एकमात्र सजिलो उपाय हो। त्यसैले निर्माण कार्यमा संलग्न हुने मजदूरले हरदम सजग रहनु र निर्माण कर्ता तथा ठेक्केदार हरूले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएमा जोखिम न्यूनिकरण गर्न सकिन्छ।

##समाप्त##

Courtesy:From the Souvenir of Construction Entrepreneur Association

Author: gpaudel

A passionate writer, blogger, Wikipedian, Wikimedian and a Nature Lover.

Leave a comment